विराटनगर, माघ २३ / आगामि फागुन १४ गते हुने महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनको लागि अखिल (क्रान्तिकारी) मोरङले आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।
विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरि राजधानी बाहिर महत्वपूर्ण मानिने मोरङ क्याम्पसको लागि क्रान्तिकारीले अध्यक्षमा जिसस न्यौपाने र सचिवमा अभिमन्यू यादवको उम्मेदवारी घोषणा गरेको हो ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा उम्मेदवार बन्नका लागि २८ वर्षे उमेर हद तोके पनि न्यौपानेलाई उमेर हदले भेटेन । अन्य विद्यार्थी संगठनमा भने अधिकांश लोकप्रिय नेताहरु उमेर हदका कारण स्ववियु निर्वाचनको उम्मेदवार हुनबाट वञ्चित भएका छन् ।
महेन्द्र मोरङ क्याम्पसका लोकप्रिय विद्यार्थी नेताको रुपमा परिचित न्यौपाने सभापतिमा उठ्ने यसअघि पनि चर्चा चलेको थियो । न्यौपाने अहिले पनि अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् । न्यौपाने यसअघि अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस इकाइको निवर्तमान अध्यक्षसमेत थिए ।
अन्य संगठनको तुलनामा न्यौपानेलाई बलियो उम्मेदवारीको रूपमा विद्यार्थीले लिएको बताइन्छ । यस्तै सचिवका उम्मेदवार अभिमन्यू यादव महेन्द्र मोरङ अखिल क्रान्तिकारी क्याम्पस इकाईका अध्यक्ष हुन् ।