RUMPUM
animated ellipse animated ellipse

गाउँको पहिचान राख्न टुङघर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ माघ २०७३, आईतवार २१:११
3
Shares
मोरङ,माघ २३ / दक्षिणी मोरङको वरडंगा–७ कल्याणपुरबासीले कंक्रिटको १० तले टुङघर निर्माण गरेका छन् । २०६४ सालमा निर्माण शुरु भएको टुङघरमा हाल धमाधम रंगरोगन भईरहेको छ ।
दुई किलो मिटर दक्षिणबाट आउने भारतीय डाकाहरूले बाह्रै महिना दुःख दिएपछि कल्याणपुर क्षेत्रका वासिन्दाले चोर डाका रुङ्न २०२६ सालमा काठको टुङघर निर्माण गरेका थिए । तर, कल्याणपुर–आमबारी–उर्लाबारी सडकको स्तरोन्नति गर्नेक्रममा काठको टुङघर सडक विभागले भत्काइ दियो ।
सडक विभागले टुङघर भत्काएपछि क्षतिपूर्ति वापत ६५ हजार रुपैयाँ दियो । त्यही पैसा र बैदेशिक रोजगारीमा गएका युवाहरुले सहयोग पछि स्थानीयबासीले कंक्रिटको टुङघर निर्माण गरेका हुन् ।
सो टुङघर अहिले त्यस क्षेत्रको आकर्षणको केन्द्र बनेको छ । टुङ्घरमा चढेर बरपरको दृश्य अवलोकन गर्ने, तस्वीर लिन आन्तरिक पर्यटकहरु आउने थालेका छन् ।
उसबेला भारतीय डाकाहरूबाट प्रभावित दक्षिणी मोरङका लारिकट्टा, कर्सिया, सिंगारी, सौंठा र कल्याणपुर लगायतका गाउँमा टुङघर निर्माण गरिएको थियो । अहिले सो क्षेत्रका टुङघरहरू लडिसकेका छन् ।
सबैभन्दा पहिले कल्याणपुरमा टुङघर निर्माण गरिएकोले सो स्थानमा टुङको परिचय जिवित राख्न कल्याणपुर बासिन्दाले कंक्रिटको टुङ बनाउने अभियान ९ बर्षअघि सुरु गरेका थिए ।
२०२२ सालमा तत्कालीन राजा महन्द्रले नेपालको दक्षिणी सीमा क्षेत्रमा बर्माका नेपालीलाई बसोबास गराएका थिए । बर्मामा सैनिक शासन सुरु भएपछि लखेटिएका नेपालीहरुलाई दक्षिणी सीमा क्षेत्रभित्र पहरेदारको रुपमा राखिएको थयो ।
सीमा क्षेत्रमा बर्माबाट प्रवासी नेपालीलाई ल्याएर राखिएपछि कल्याणपुरभन्दा उतरतर्फ बसोबास सुरु भएको हो । राजा महेन्द्र स्वयंले १ सय २० परिवारलाई घडेरी सहित बसोबासको व्यवस्था मिलाइदिएको बुढापाकाहरूलाई उद्धृत गर्दै चेतन कोइरालाले बताए ।
उनका अनुसार २०२५ सालतिर डाकाले दुःख दिएपछि कल्याणपुरबासीले तत्कालीन सिडियो भक्तबहादुर कोइरालालाई सुरक्षा प्रबन्ध मिलाउन जाहेर गरे । सिडियोले तत्कालै टुङ बनाउन निर्देशन दिएपछि डाकाको रखबारी गर्न टुङ निर्माण गरिएको कोइरालाको भनाई छ ।
स्थानीय साम सिंहलाई डाकाले मारे पछि डाकाको प्रतिकारका लागि सिडियोले बन्दुक किन्न लगाएको,गोरु किन्न ५ सय रुपैयाँ दिएको समेत उनले जानकारी गराए । बर्माबाट आएका १ सय २० परिवारले कल्याणपुरमा व्यवस्थित बसोबास मिलाउन झण्डै १० वर्ष लाग्यो ।
निर्माण समितिका सचिव एवं स्थानीय सरस्वती उच्च माविका शिक्षक राजेन्द्र बराल भन्छन्–कल्याणपुरलाई माया गर्ने चन्दादाता र सहयोगीबाट प्राप्त झण्डै १५ लाख रुपैयाँले टुङघर निर्माण गरेका हौ ।
बैदेशिक रोजगारमा गएको युवाहरूले पठाएको चन्दा सहयोगबाट सिढी र छानो लगाउने ब्यवस्था गरिएको बरालले बताए । हाल कल्याणपुरबासी सुरक्षित छन् ।
त्यहाँको सुरक्षा ब्यवस्था हेर्र्दा टुङको आवश्यकता छैन । तर, कल्याणपुरबासीले आफ्नो गाउँको सुरक्षा लागि निर्माण गरेको टुङ घर भाविपुस्ताले अनन्तकालसम्म देख्न पाइरहनु पर्छ भनेर नै टुङ निर्माणमा लागेको कल्याणपुरवासीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर