विराटनगर, माघ २१ / नीजि विद्यालयहरूले शिक्षा ऐन तथा नियमावली विपरीत कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई प्रि–टेस्टको नाममा अनाधिकृत शुल्क लिन लागेको भन्दै पब्लिक फोरम विराटनगरले विरोध गरेको छ ।
पब्लिक फोरमले आज एक विज्ञाप्ती जारी गर्दै शुल्क विरुद्धको विरोध गरेको हो ।
नीजि विद्यालयहरुले माघ २३ गतेदेखि नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले नियमति तालिका अनुसार प्रि–टेस्ट (जाँच)लिने भन्दै शुल्क उठाइरहेको फोरमको दाबी छ ।
‘जाँचको नाममा अनाधिकृत रकम लिने कार्य बन्द गर्नुपर्छ, लिएको रकम फिर्ता गर्नुपर्छ र परीक्षाको नाममा विद्यार्थीलाई फेल गराउन पाइँदैन,’ पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले भने, ‘एसएलसी परीक्षामा भाग लिनबाट प्रि–टेस्टको नामबाट विद्यार्थीलाई फेल गराउनु शिक्षा ऐन तथा नियमावली विपरीत हो ।’ शुल्क लिए पनि बिल नदिने गरेको पब्लिक फोरमको दाबी छ ।
पब्लिक फोरमले यही कुरालाई लिएर जिल्ला शिक्षा कार्यालयमा उजुरी समेत गरेको छ । शुक्रबार दिइएको उजुरीमा शुल्क फिर्ता गर्न र नलिन माग गरिएको छ । उजुरी लिँदै जिल्ला शिक्षा अधिकारी देवेन्द्र खनालले शुल्क नलिन तत्काल निर्देशन गरिने बताए । ‘शुल्क लिने कार्य शिक्षा ऐन विपरीत भएकोले छानविन गर्छु,’ खनालले भने, ‘परीक्षा लिएर विद्यार्थी फेल गराउने कार्य कदापी मान्य हुँदैन ।’
यता नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन मोरङका अध्यक्ष बासु न्यौपानेले शुल्क लिने काम गैर कानूनी नभएको बताए । कुनैपनि विद्यार्थीलाई परीक्षामा सामेल गराएर फेल गराउने नियत नभएको बताउँदै न्यौपानेले विभिन्न परीक्षामा नीजि विद्यालयहरूले शुल्क लिनु गैरकानूनी भयो भन्नु सान्दर्भीक नभएको बताए ।