विर्तामोड , माघ २० / मनाङ मर्स्याङदी क्लब काठमान्डौं विर्तामोडमा जारी रमपम झापा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।
विर्तामोडको डोमालाल रंगशालामा विहीबार भएको क्वाटरफाइनल खेलमा मनाङले न्यूरोड टिम (एनआरटी) काठमान्डौलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको छ ।
योसँगै अब मनाङले अन्तिम चारमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्ने भएको छ । खेलको सुरुआतदेखि नै मनाङले एनआरटीलाई दबावमा राखेको थियो । ६ जना राष्ट्रिय खेलाडीहरुसहित मैदान उत्रिएको मनाङ सामु एनआरटी निरीह बन्यो ।
खेलको २५ औं मिनेटमा मनाङका लागि विदेशी खेलाडी ओलावालेको पासलाई सदुपयोग गर्दै निराजन मल्लले पहिलो गोल गरे ।
त्यसको २ मिनेटलगत्तै सुशील लामाले मनाङका लागि अर्को गोलको थपे । ओलावालेकै पासमा उनले गोल गरेका थिए ।
खेलको ३४ औं मिनेटमा निराजन मल्लले व्यक्तिगत दोस्रो गोल गरे । र, खेललाई ३–० को स्थितिमा र्पुयाए ।
दोस्रो हाफमा पनि मनाङले एनआरटीलाई दवावमा राख्न सफल भयो । ५९ औं मिनेटमा ओलावालेले गोल गरे । विशाल राईको पासमा उनले उत्कृष्ट गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच मनाङका खेलाडी रोहित चन्द घोषित भए ।