उर्लाबारी, माघ १३/ नेपाल विद्युत प्राधिकरण उर्लाबारी वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण, बक्यौता असुली, हुक नियन्त्रण तथा कारबाही तीब्र पारेको जनाएको छ ।
वर्षौदेखि विद्युत महशुल नबुझाउने उपभोक्तालाई जानकारी सहित सचेत गराई बक्यौता असुल्ने कार्य धमाधम अगाडि बढाएको वितरण केन्द्रका प्रमुख दिगम्बर यादवले बताए । यस्तैगरी, वितरण केन्द्र अन्तरगत दुई नगरपालिका र ७ गाविस क्षेत्रमा अनुगमन र गस्ती कार्यलाई धनिबूत रुपमा अघि बढाई हुक लगाएर विद्युत चोरी गर्नेलाई सामानसहित पक्राउ गरी कारबाही चलाएको उनले जानकारी दिए ।
त्यसबाट राजश्व समेत असुल गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशैभर विद्युत चुहावट नियन्त्रण तथा बक्यौता असुली गर्दै लोडसेडिङमुक्त अभियान चलाएपछि उर्लाबारी वितरण केन्द्रले पनि हाल ९.३७ प्रतिशतमा विद्युत चुहावट घटाएको प्रमुख यादवले बताए । यस्तैगरी, विगत लामो समयदेखि समस्या बन्दै आएको विद्युत मिटरको अभाव विस्तारै समाधान हुन थालेको छ । पूर्वाञ्चल क्षेत्रका विभिन्न वितरण केन्द्रमा हाल पर्याप्त रुपमा मिटर उपलब्ध हुन थालेपछि समस्या समाधान हुन थालेको हो ।
क्षेत्रीय कार्यालयबाट प्रत्येक केन्द्रलाई दोब्बर संख्यामा मिटर उपलब्ध गराउन थालेपछि सिचाई, कृषिका लागि एक हप्तामा मिटर बितरण गरिन थालेको प्रमुख यादवले बताउनुभयो । उहाँले भन्नुभयो ‘सिचाईका लागि हप्ता दिनमा र घरायसी प्रयोजनका लागि गत मंसिरसम्म मिटरको माग निवेदन दिएका र रकम बुझाउनेलाई हामी धमाधम मिटर उपलब्ध गराइरहेका छौं ।’ यस्तै साउनदेखि यता १५ सय वटा मिटर वितरण गरिसकिएको केन्द्रले जनाएको छ । मिटर उपलब्ध भई वितरण गर्न थालेपछि विद्युत चुहावट घटेको प्रमुख यादवले दावी गर्नुभयो । केन्द्र अन्तरगत यस क्षेत्रमा २८ हजार उपभोक्ता रहेका छन् ।