ईश्वर भट्टराई
१ माघ,उर्लाबारी/ आज शनिबार किरात याक्थुम चुम्लुङ उर्लाबारी अध्यक्ष रूपेन्द्र शेर्मा शिरमा पाल्पाली ढाका टोपी, खाडी कपडाको दौरा सुरूवाल र कालो कोटमा ठाटिएर बढो उमंग र उत्साहका साथ भेटिए ।
कियाचूले उर्लाबारी–४ मा रहेको स्कूलडाँडाको राधिका माध्यामिक विद्यालय प्राङ्गमा आयोजना गरेको कम्फेक्वा तङनाम तथा येले तङ्बे ५०७७ (नयाँ वर्ष) को कार्यक्रममा पुरूषहरू शेर्माजस्तै र महिलाहरू पालुङ्वाजस्तै पहिरनमा सजिएका थिए ।
त्यसो त केही युवतीहरू मेख्ली र युवाहरू तागावामा सजिएर उपस्थिति अतिथिको मन खिचिरहेका थिए । कार्यक्रममा प्रस्तुत गरिएको लिम्बू जातिको पहिचान झल्काने हाक्पारे, ख्याली, धान नाचलगायत सांस्कृति नृत्यले उपस्थित सबैलाई बाल्यकालमा लिम्बू जातिको बाहुल्यता रहेको ताप्लेजुङ, पाँचथर, तेह्रथुमको याद दिलाएको थियो ।
कार्यक्रममा लिम्बू जातिका विभिन्न परम्परागत स्वादिष्ट परिकारका साथै वन तरूल, घर तरूल, सखरखण्ड, फूलतरूलकोसमेतको व्यवस्था थियो ।
बिहान ८ बजेदेखि गरिएको कार्यक्रमकको पहिलो चरणमा शुभकामना आदानप्रदान गरिएको थियो । उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र थापामगरको प्रमुख आतिथ्यता तथा कियाचू अध्यक्ष शेर्माको सभापतित्वमा भएको कार्यक्रममा कियाचू जिल्ला अध्यक्ष सूर्यमान सेरेङ, डा. बालचन्द्र सुब्बा, सुकदेव पौद्दार, मदनबाबु प्रसाई, जयधर्म आचार्यले येले तङ्बे ५०७७ को शुभकामना दिएका छन् ।
कियाचू नगरसचिव बानु सुब्बाले सञ्चालन गरेकोे कार्यक्रममा उपाध्यक्ष पूर्ण सिंघक लिम्बूले स्वागत मन्तव्य राखे । साँझ ५ बजेसम्म आयोजना गरिएको कार्यक्रमको अन्त्यमा अध्यक्ष सेर्माले उपस्थित सबैलाई शुभकामनासहित कार्यक्रममा उपस्थित भइ सफल पारेकोमा धन्यवाद दिएका थिए ।
कक्फेक्वा तङनाम हरेक वर्ष किराँती राई, याक्खा, लिम्बू सुनवारलगायतका जातजातिले धूमधामका साथ मनाउने गर्दछन् । विशेष गरी कक्फेक्वा तङनाममा वन तरूल, घर तरूल, सखरखण्ड, फूलतरूल खाने गरिन्छ । अन्य तरूलको तुलनामा वन तरूल भने किराँतीहरुको मन्धुमसँग जोडिएको पाइन्छ ।
आदिम कालमा मनुष्यले अन्नवाली नहुँदा यही वन तरूल खाएर प्राण रक्षा गरेको भन्ने किवंदन्ती रहेको पाइन्छ ।