२९ पुसविराटनगर / कविशिरोमणि लेखनाथ पौड्यालको १ सय ३३ औं जन्मजयन्तीका अवसरमा विराटनगर–६ चाँदनी चोकस्थित शिरोमणि पुस्तकालयले पत्रकार मीनकुमार नवोदितसहित दुईजनालाई सम्मान गरेको छ ।
चाँदनीचोकमा आयोजित कार्यक्रममा डेढ दशकदेखि पत्रकारितासँगै साहित्य सिर्जनामा सक्रिय नवोदितलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी र पुस्तकालयका अध्यक्ष बालकृष्ण निरौलाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
नवोदित मकालु टेलिभिजनका सहसम्पादक र कारोबार दैनिकका पूर्वाञ्चल संयोजक हुन् । त्यस्तै सोही अवसरमा साहित्यकार मञ्जुश्री गिरीलाई पनि सम्मान गरिएको थियो । पुस्तकालयले लेखनाथ जयन्तीमा हरेक वर्ष पत्रकारिता र साहित्य क्षेत्रमा योगदान पु¥याउने एक–एकजना व्यक्तिलाई सम्मान गर्ने गरेको छ ।
समारोहमा साहित्यकार दिङ्लाली कान्छो, प्राध्यापक बलराम पौडेल, बाबुराम तिम्सिना, गोविन्द अधिकारी, वडा नम्बर ६ का पूर्वअध्यक्ष केदार कोइराला, पुस्तकालयका सचिव रामकृष्ण बास्कोटालगायतले कविशिरोमणि लेखनाथ पौड्यालले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा सरिता तुलाधर, गायत्रीकुमार चापागाईं, दीपक शम्चु, आलोक लुइँटेल, शिवनारायण पण्डित सिंगललगायत एक दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।