पूर्वाञ्चल खबर
२५ पुस, विराटनगर/ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक निर्वाचनतर्फ उन्मुख भएकोले कार्यकर्तालाई चुनावी अभियानमा जुटन निर्देशन दिएका छन् ।
विराटनगरमा आजदेखि शुरु भएको नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले चुनावी अभियान लिएर गाउँगाउँ जान कार्यकर्तालाइ निर्देशन दिएका हुन् ।
मुलुकमा जारी गतिरोध केही दिनभित्रै समाधान हुने र मुलुक निर्वाचनमा जाने उनको भनाई थियो ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचनले मात्रै मुलुकलाई निकास दिने भएकाले निर्वाचन चाँडै हुने बताए । अध्यक्ष ओलीले सरकारले संसदमा जर्वदस्ति ल्याएको संविधान संशोधन प्रस्ताव कुनैपनी हालतमा पारित हुन नदिने बताएका छन् । उनले कसैलाई खुशिपार्न ल्याएको संविधान संशोधन प्रस्ताव मुलुकको हित विपरित भएकाले नेकपा एमालले त्यो पारित हुन नदिने बताए ।
कार्यक्रममा वोल्दै नेकपा एमालेको सचिव योगेश भट्टराई तथा भिम आचार्यले संविधान संशोधन प्रस्ताव जनताको पक्षमा नभएको बताएका छन् । तीन दिनसम्म चल्ने अधिवेशनमा करिब ९ सय जना प्रतिनिधि विराटनगर आएका छन् ।
नयाँ नेतृत्वको लागि अध्यक्ष सहितको कार्यसमिति चुनाब हुने भएको छ । अध्यक्षको लागि हालको अध्यक्ष महेश रेग्मी र विनोद ढकालबिच तिब्र प्रतिस्पर्धा हुने भएको छ ।