२३ पुस, विराटनगर/ विराट राजवंशी शिक्षक कर्मचारी समितिको आयोजनामा आज शनिबार विराटनगरमा वक्तृत्वकला सम्पन्न भएको छ ।
पढाइ लेखाइका साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई अगाडि बढाउन कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । विद्यार्थीहरुमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी समाजमा अगाडि बढाउन यस्ता कार्यक्रमले मद्दत पुग्ने जिल्ला शिक्षा कार्यालय मोरङका उपसचिव दुर्गा खरेलले बताए ।
कार्यक्रममा मोरङका विभिन्न विद्यालयका २५ जना छात्रछात्राले राजवंशी भाषामा बोलेका थिए । २१ औ शताब्दीमा शिक्षा र राजनीतिमा विराट राजवंशीको अवस्था, वर्तमान सन्दर्भमा महिलाको भूमिका, लोकतन्त्रमा विराट राजवंशीको अवस्था शीर्षकमा उनीहरुले आ–आफ्ना भनाइ राखेका थिए ।
नरग्राम उच्च मावि टंकीसिनवारीकी रुइली राजवंशी प्रथम, महेन्द्र मावि विराटनगरकी अञ्जना राजवंशी द्वितीय र ग्रीनल्याण्ड कलेजका सुजीतकुमार राजवंशी तृतीय भएका थिए । उनीहरुलाई विराट राजवंशीको फागुन ५ गते विराटनगरमा हुने भेलामा सम्मान गरिने आयोजकले जनाएको छ ।