पूर्वाञ्चल खबर
घनश्याम भण्डारी
२२,पुस, मोरङ/ कालिकोटका प्रकाश शाही गलैंचा बेच्दै पूर्वी तराईमा आइपुगे । विए दोस्रो वर्षमा अध्ययन गर्दै गरेका उनीजस्तै कालिकोटकै राजेन्द्र शाही पनि पूर्वी तराईका जिल्लाहरूमा गलैचा बेच्ने काम गर्छन् ।
हिउँदमा झण्डै दुई महिना शैक्षिक संस्था विदा हुने भएकाले प्रकाश र राजेन्द्रजस्तै पश्चिम पहाडी जिल्लाका १ सय भन्दा बढी युवा यसरी नै काठमाडौंबाट गलैंचा मगाएर पढाई खर्च जुटाउन गलैंचाको भारी बोकेर झापा, मोरङ र सुनसरीका गाउँगाउँमा भेटिन्छन् ।
उनीहरूले समूह बनाएर महिनामा १५ देखि २० लाख सम्मको गलैचा मगाउने गरेको र गलैचा गाउँगाउँसम्म पु¥याएर बेच्ने गरेका छन् । प्रति गोटा गलैचालाई ५ सय देखि ५० हजार रूपैयाँ सम्मका पर्छ । गलैंचा विक्री गर्दा दुई महिनामा प्रति व्यक्ति ६० हजार रूपैयाँसम्म कमाइ हुने गरेको उनीहरूको भनाइ छ ।
आर्थिक अवस्था कमजोर हुनु र सरकारले निःशुल्क शिक्षा कागजमै सीमित हुनुले गलैंचा बेच्दै हिड्नु आफूहरूको बाध्यता नै बनेको राजेन्द्रको भनाइ छ । आर्थिक अवस्था कमजोर भएको कारण बिद्यालय विदा भएको मौका छोपी गलैचा बिक्रीका लागि झण्डै एक सय युवा विराटनगर लगायतका पूर्वका अन्य शहरमा आएको उनले बताए । गलैंचा व्यापार गरेर पढाईको खर्च मात्र नभई घर खर्च समेत जुटाउनु परेको अर्का व्यापारी जीवन मल्लको भनाइ छ ।
कालिकोटका युवाहरूमात्र होइन, बुढापाकाहरू पनि गलैचा, जडिबुटि ब्यापार गर्न तराईका जिल्लाहरूमा आउने गरेका छन् । गरिबी तथा सरकारले बहुमूल्य जडिबुटीको महत्व नबुझ्नु पनि पश्चिम पहाडी जिल्ला हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट लगायत जिल्लाका बासिन्दाको बाध्यता नै बनेको छ, गलैंचा तथा जडिबुटि लिएर शहरबजार भौतारिनु । उता, उपभोक्तालाई भने घरमा बसीबसी गुणस्तरीय स्वदेशी गलैंचा तथा जडिबुटि किन्ने अवसर मिलेको छ ।