पूर्वाञ्चल खबर
२० पुस, विराटनगर/ नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान संशोधन प्रक्रियालाई अहिलेको अवस्थामा थाँती राखेर स्थानीय निकायको निर्वाचनमा दलहरु जुट्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज बुधबार स्थानिय सञ्चाकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले २०७४ माघसम्ममा तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले संशोधन प्रक्रियामा पछि छलफल गर्ने गरी सहमति कायम गरेर निर्वाचनमा जानुपर्ने बताए ।
संविधान कार्यान्वयमा मुख्य चुनौती रहेको बताउँदै डा. कोइरालाले दलहरुबीच सहमति सहकार्य गरेर भए पनि संविधान कार्यान्वयनमा जानु उपयुक्त हुने उल्लेख गरे । संविधानमा केही त्रुटि भएकाले त्यसलाई सच्याएर भए पनि मधेशको मुद्दा सम्बोधन हुनुपर्ने उनको भनाइ थियो ।
महामन्त्री कोइरालाले विशेष गरी संविधान संशोधनका लागि एमाले र मधेसी मोर्चासँगको वार्तालाई घनीभूत रुपमा अगाडि बढाइ सहमति कायम गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश नम्बर ५ मा देखिएको विवाद समाधानका लागि स्थानीय जनताको राय बुझेर सीमांकनको टुंगो लगाउनुपर्ने बताए । कोइरालाले त्यस क्षेत्रका जनताको भावनाविपरीत जान नहुने पनि बताएका थिए ।
नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि राजनीतिक नेतृत्व लिन असफल भएको उनको भनाइ थियो । ठूलो दल कांग्रेस भएकाले अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा महामन्त्री कोइरालाले जोड दिए ।