पूर्वाञ्चल खबर
९ पुस, काठमाडौं / रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ । टेलिचलचित्र तीतो सत्यमा ‘योर माई लभ बा’ का रुपमा चर्चित भएका उनको राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दागर्दै निधन भएको हो ।
संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित र बद्री अधिकारीले निर्देशन गरेको नाटकमा उनी राजा जनकको भूमिकामा अभिनय गर्दै थिए । त्यसक्रममा हृदयघात भएपछि उनलाई तत्काल वीर अस्पताल लगिएको नाचघरकी सूचना अधिकारी पवित्रा पंगेनीले जानकारी दिइन् ।
चिकित्सकहरुले साँझ ६ः१० बजे उनको निधन भएको घोषणा गरेका छन् । उनको पार्थिव शरीरलाई अहिले अस्पतालमै राखिएको छ । भोलि बिहान ११ देखि २ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा भवन कमलादीमा राखिने जनाइएको छ ।
झण्डै ५ दशकदेखि रंगक्षेत्रमा सक्रिय फुयालका बाध्यता र सहिदको सपना नाट्यसंग्रह समेत प्रकाशित भएको छ । उनले तीतो सत्य, मधुमालती, इन्द्रावती लगायत दर्जनौं टेलिफिल्म र चलचित्रहरुमा अभिनय गरेका छन् । अनलाइनखबर