१६ पुस, विराटनगर / भारतको जोगवनी आज शविबार दिनभर बन्द हुदा मालबहाक सवारी साधन संचालन हुन नसक्दा विराटनगर भन्सार कार्यालयमा हुने आयात निर्यात आज पूर्ण रुपमा ठप्प भएको छ ।
जोगवनीका २६ वर्षीय अजय यादवको हत्याको विरोधमा आफन्त र स्थानीय बासिन्दाले जोगवनीमा बजार, पसल र यातायात ठप्प पार्दा त्यसको असर विराटनगर भन्सार कार्यालयमा परेको हो ।
भारतको फारवेशगन्जको सिर्माहामा काटेर बोरामा पोको पारेर फ्यालेको अवस्थामा यादवको टाउको शुक्रबार साँझ फेला परेको थियो । त्यसको विरोधमा यादवका आफन्त र जोगवनीका स्थानीय बासिन्दाले आन्दोलन थालेपछि नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने आयात निर्यात ठप्प बनेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
घटनाका दोषीलाई तत्काल पत्ता लगाएर कारवाही गर्नु पर्ने माग राखेर आन्दोलनमा उत्रिएकाहरुले जोगवनीका ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् । आन्दोलन र प्रदर्शनका कारण औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम पदार्थ, उपभोग्य वस्तु लगायतका मालसामान लोड गरेर नेपालतर्फ आउने तयारी गरिरहेका तीन सय बढी मालबहाक सवारी साधन भारतीय भूमिमै रोकिएको विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुँगानाले बतए ।
अधिकृत ढुँगानाका अनुसार जोगवनी नाका हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ सवारी आवतजावतनै ठप्प छ । नेपालतर्फ सामान ल्याएर भारत फर्कनु पर्ने खाली गाडी एवं नेपालबाट सामान लोड गरेर भारत जानु पर्ने गाडीहरु पनि जान नसक्दा भन्सार कार्यालयको यार्डमै थन्किएका छन् । आयात निर्यात ठप्प हुँदा दैनिक छ करोड ५० लाख बढी राजश्व संकलन गर्दै आएको भन्सार कार्यालयको राजश्व संकलन समेत प्रभावित बनेको छ ।
बजार समेत बन्द गरिंदा किनमेलका लागि जोगवनी पुगेका नेपाली ग्राहाकहरु रित्तो हात फर्कन बाध्य भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । सार्वजनिक विदा हुने भएकाले प्राय शनिबार जोगवनीमा कपडा लगायत दैनिक उपभोग्य सामान खरिदका लागि जाने नेपालीहरुको भिड लाग्छ ।
बन्दका कारण नेपाली ग्राहाक नजाँदा जोगवनी बजार सुनसान बनेको थियो ।