१६ पुस,विराटनगर / मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको ऐना पुस्तकको परिचर्चा कार्यक्रम आज शनिबार विराटनगरमा सम्पन्न भएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजना भएको कार्यक्रममा २०७२ सालको मदन पुरस्कार प्राप्त गर्न सफल ऐना कथासंग्रहमाथि परिचर्चा गरिएको हो ।
कार्यक्रममा समालोचक भूषण ढुंगेल र कवि मनु मञ्जिलले ऐनाको विषयमा बोल्नुभएको थियो । समालोचक ढुंगेलले ऐना सुदूरपश्चिमाञ्चलको प्रतिबिम्ब भएको धारणा राखेका थिए । उनले मोफसलमा बसेर लेखिएको पुस्तक ऐनाले मदन पुरस्कार पाउनु खुसीको कुरा भएको चर्चा गरे । त्यस्तै कवि मनु मञ्चिलले ऐना यथार्थपरक कथासंग्रह भएको टिप्पणी गरेका थिए ।
सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा रहेका घटनावस्तुलाई लेखक जोशीले ऐना पुस्तकमा जस्ताको त्यस्तै प्रस्तुत गरेको कवि मञ्जिलले धारणा राखे । वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदित, बुक हिलका प्रमुख एवं गीतकार भूपेन्द्र खड्का, विश्लेषक दिनेश श्रेष्ठ, रामबाबु दाहाल, राजेन्द्र गुरागाईं, दिङलाली कान्छोलगायतले ऐना पुस्तकमाथि परिचर्चा गरेका थिए ।
कार्यक्रममा पुस्तकका लेखक जोशीले ऐनाले मदन पुरस्कार प्राप्त गर्ने सपना पनि नसोचेको बताए । पाठकको दबाबकै कारण मदन पुरस्कार गुठीले आफूलाई पुरस्कार दिन बाध्य भएको उनले उल्लेख गरे ।
सोही अवसरमा मधु पोखरेल, चूडामणि नेपाल अकिञ्चन, भरत गुरागाईं, हरि कट्टेल, सरिता तुलाधर, शिवनारायण पण्डित, कविराज पोखरेल, दीपक शम्चु, आलोक लुइँटेल, ओमविक्रम गाउँले, विनोद दाहाल, विक्रमबाबु काफ्ले, हरि बराल, तारानाथ पोखरेल, बाबुराम श्रेष्ठ वर्षा, कृष्णराज कोइराला, सविता गौतम दाहाललगायत दुई दर्जनभन्दा बढीले कविता वाचन गरेका थिए ।