पूर्वाञ्चल खबर
११ पुस इटहरी /वृहत सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटको आज भएको खेलमा एपिएफ र पूर्वाञ्चल विजयी भई उपाधि नजिक प्रवेश गरेका छन् ।
इटहरीमा भएको पहिलो खेलमा शसत्र प्रहरीको एपिएफ क्लबले मध्यपश्चिमाञ्चललाई ८३ रनले पराजित गरी फाइनलका स्थान सुरक्षित गरेको छ । टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय २० रनकोे योगफल तयार पारेको थियो ।
एफिएफकी करुणा भन्डारीले ४० बलमा ५ चौका प्रहार गर्दै ४५,सरिता मगरल ४५ बलमा ५ चौका प्रहार गरी ४३ रन र ज्याति पाण्डेले १३ रनको योगदान दिएकी थिइन । मध्यपश्चिमाञ्चलकी अनिता चौधरी र शर्मीला मगरले २–२ विकेट लिएकी थिइन
जवाफमा १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको मध्यपशिचमाञ्चलले १९ओभरमा सवै विकेट गमाई ३७ मात्र जोड्न सकियो । मध्यपशिचमाञ्चलका कुनैपनि ब्याटस्वुमनले दोहोरो अंकलाई छुन सकेनन् । एपिएफकी करुणा भण्डारीले ३ विकेट लिएकी थिइन् । खेलको वुमन अफ दी म्याच एपिएफकी करुणा भण्डारी घोषित भइन ।
दोस्रो खेलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई ६० रनले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको छ । टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ३ विकेट गमाई १ सय १५ रन बनाएको छ । पूर्वाञ्चललकी काजोल श्रेष्ठले ५१ बलमा ५ चौका प्रहार गरी ५५ रन र गोमा थापाले ३४ रनको योगदान दिएकी थिइन । मध्यमाञ्चलकी शान्ति खतिवडाले २ विकेट लिएकी थिइन् ।
जवाफमा १ सय १६ रनको विजय लक्ष्य पछ्याएको मध्यमाञ्चलले १९ दशमलव ४ बलमा सवै विकेट गुमाई ५५ रनमात्र जोड्न सक्यो । मध्यमाञ्चलकी मध्यमाञ्चलकी शान्ति खतिवडाले ११ रन बनाइन । पूर्वाञ्चलकी कविता गौतम, सन्तोषि चौधरी र रश्मी शर्माले २–२ विकेट लिएकी थिइन । खेलको वुमन अफ दी म्याच पूर्वाञ्चललकी काजोल श्रेष्ठ घोषित भइन ।