५ पुस,रंगेली / मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाको एउटा मुसहर गाउँका कसैका घरमा पनि शौचालय छैन ।
नगरपालिका स्थापना भएको तीन वर्ष बितिसक्दा पनि रंगेली–९ मा रहेको भंगिटोलमा शौचालयका निर्माणको लागि पहल भएको छैन ।
मुसहर समुदायका १ सय बढि परिवारको बसोबास रहेको गाउँमा दशक अगाडि प्लान नेपालको सहयोगमा ५८ घर निर्माण गरिएको थियो । तर, शौचालय नबनेकोले ति घरमा बस्नेहरु पनि शौचका लागि नजिकैको घागी खोला जाने गरेका छन् ।
नगरपालिकालाई शौचालय निर्माणमा सहयोग गर्न आग्रह गरेपनि प्लानले बनाएको घरमा प्लानले नै शौचालय बनाउने भन्दै नगरपालिकाले वास्ता नगरेको स्थानीयको गुनासो छ । शौचालय नहुँदा युवा उमेरका युवतीहरुलाई शौच गर्नसमेत समस्या छ ।
शौचालय नहुँदा सरसफाइमा समेत समस्या हुने गरेको स्थानीय विशेश्वर ऋषिदेवले बताउनुभयो । जथाभाबी शौच गर्दा रोग फैलनसक्ने भएकाले चाँडै शौचालय निर्माण गर्न उनीहरुले आग्रह गरेका छन् ।