२ पुस, दुहबी / सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत महिला फुटबल प्रतियोगिता आजदेखि सुनसरीको दुहबी रंगशालामा सुरु भएको छ ।
आज भएको उदघाटन खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुआत गरेको छ ।
समूह ‘क’ को लिग खेलमा एपीएफले पश्चिमाञ्चललाई ३–० गोलअन्तरले पराजित गरेको छ । निर्धारित ७० मिनेट खेलको पहिलो हाफमा २ तथा दोश्रो हाफमा १ गोल भएको थियो ।
कप्तान लक्ष्मी पौडेलले खेलको १२ औं मिनेटमा गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाइन् । लक्ष्मीले नै २२ औं मिनेटमा गोल गर्दै एपीएफको अग्रतालाई दोब्बर बनाइन् । अनिता केसीले ५५ औं मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि तेश्रो गोल गरिन् ।
समूह ‘ख’ को लिगमा पूर्वाञ्चल र मध्यमाञ्चलबीचको खेल गोलरहित बराबरीमा टुंगियो । आइतबार सुदूरपश्चिमाञ्चल र नेपाल प्रहरी क्लब तथा मध्यपश्चिमाञ्चल र नेपाली सेनाबीच खेल हुनेछ ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीसहित ८ टिम सहभागी रहेका छन् । समूह ‘क’ मा पश्चिमाञ्चल र एपीएफसहित सुदूरपश्चिमाञ्चल र प्रहरी छन् । त्यस्तै समूह ‘ख’ मा पूर्वाञ्चल र मध्यमाञ्चल बाहेक मध्यपश्चिमाञ्चल र सेना रहेका छन् ।
महिला फुटबलको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले निर्णायकलाई बल दिएर खेलको उदघाटन गरेका थिए ।
सातौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन पुस ८ गते हुने भएपनि महिला फुटबल शनिबारैदेखि सुरु भएको हो । यसअघि सातौं राष्ट्रियअन्तर्गत पौडी, शारीरिक सुगठन र ट्रायथलन सम्पन्न भइसकेको छ । एथलेटिक्सको पनि म्याराथन भइसकेको छ ।