AArya
RUMPUM
animated ellipse animated ellipse

काठ तस्कर जोगाउन वन कर्मचारी नै सक्रिय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७३, मंगलवार २२:०२
3
Shares
२१ मंसिर, उर्लाबारी  । ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता उपसमिति वयरवनका पदाधिकारीको मिलेमतोमा तस्करी गरेर बहुमूल्य सखुवाको काठ विक्री गरिएको घटनामा संलग्नलाई जोगाउनका लागि वन कार्यालयका कर्मचारीहरु नै सक्रिय भएर लागेको पाइएको छ ।
 उर्लाबारीमा रहेको सेक्टर वन कार्यालयले काठ तस्करीमा संलग्न भनिएका सबैलाई उन्मुक्ती दिएर एक जनालाई मात्र कारवाहीको दायरामा ल्याएपछि यो तथ्य बाहिर आएको हो । वन कार्यालयले ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता उपसमिति क्षेत्र नम्बर ३ का अध्यक्ष शेरबहादुर लिम्बू, सचिव रेजिना ठकुरी, कोषाध्यक्ष हेमन्त घिमिरे, सदस्य शिवकुमार राई, सल्लाहकार राजकुमार जिमी र विवेक लिम्बू तथा वयरवन–८ का मानकुमार माझी र पथरीशनिचरे नगरपालिकाका बलबहादुर लिम्बू तस्करीमा संलग्न रहेको विवरण यस अघि सार्वजनिक गरेको थियो ।
 स्रोतका अनुसार जिल्ला वन अधिकृत डा. विनोद देवकोटा विदामा रहेको मौका छोपेर सहायक वन अधिकृत तारणी चौधरी लगायतका वन कर्मचारीको मिलेमतोमा तस्करीमा संलग्नलाई उन्मुक्ती दिने खेल सुरु भएको हो । रातारात स्काईभेटर र रुख काट्न प्रयोग गरिने अत्याधुनिक मेसिन पावर चेन्सको प्रयोग गरेर उपभोक्ता उपसमिति क्षेत्र नम्बर ३ का पदाधिकारी लगायतको संलग्नतामा तस्करी गर्दै विक्री गरिएको अवस्थामा चौधरी नेत्रृत्वको वन कर्मचारीको टोलीले मंसिर १३ गते पथरीशनिश्चरे–८ मा रहेको विश्वकर्मा स–मिल (आनन्द मिल) बाट दुई सय २५.७५ क्यूफिट सखुवाको काठ बरामद गरेको थियो ।
पछि तस्करीमा संलग्नलाई उन्मुक्ती दिनका लागि वन कर्मचारीले रातको समयमा सडकमा ल्याएर फ्यालिएको बेवारिसे अवस्थामा काठ बरामद गरिएको मुचुल्का तयार पारेर स्रोतको भनाइ छ । काठ बरामद भएसंगै उपभोक्ता उपसमिति र मूल समितिका पदाधिकारीहरु प्रमाण नष्ट गर्न र काठ बेवारिसे देखाउनका लागि हारगुहार गर्दै वन कार्यालय पुगेका थिए । वन कार्यालयले स–मिल संचालक लिम्बू सहित तस्करीमा संलग्न भनिएका उपसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार सहित आठ जनालाई उन्मुक्ती दिने खालको मुचुल्का तयार पारेर मानकुमार माझी विरुद्ध मात्रै वन ऐन अन्तर्गतको मुद्धा दर्ता गरेको छ ।
 तस्करीमा संलग्न सबै मिलेर माझीका परिवारलाई आर्थिक सहयोग गर्ने सहमति गरेर उनी विरुद्ध मात्रै मुद्धा दायर गर्ने र अरुले बाहिरै बसेर यो घटनालाई मिलाउने वातावरण तयार पारिएको स्रोतको भनाइ छ । सहायक वन अधिकृत चौधरीले तस्करीमा संलग्न भनिएका अन्य आठ जना फरार रहेका कारण उनीहरुको खोजी जारी राखेर माझीलाई मात्र पक्राउ गरेर कानुन अनुसारको कारवाही अघि बढाइएको दावी गर्नु भयो । वन कार्यालयका एक कर्मचारीका अनुसार फरार भनिएका सबै जना वन कार्यालयको सम्पर्कमा रहेर घटना मिलाउने विषयलाई लिएर सबैतिर दौडधुपमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर