१८ मंसिर, विराटनगर/चितवनबाट सञ्चालित साताको साहित्य डट कमले युवाकवि बोनमप्रताप मल्ललाई पुरस्कृत गरेको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानको स्थानीय आतिथ्यमा आज विराटनगरमा आयोजित कार्यक्रममा मल्ललाई नगद २० हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । डिजिटल साहित्यिक पत्रिका साताको साहित्य डट कममा वर्षभरि छापिएका सिर्जनामध्ये ‘म पनि सानोमा सुन्दर थिएँ’ कविताका लागि मल्ललाई उक्त पुरस्कार समर्पण गरेको हो । मल्ल रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेकाले उनकी माता सावित्री मल्ल ठकुरीले पुरस्कार ग्रहण गरेकी थिइन् ।
कार्यक्रममा कवि मनु मञ्जिल र पत्रिकाका कार्यकारी सम्पादक सुमन घिमिरेले संयुक्त रुपमा मल्ललाई दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए ।
सोही अवसरमा कवि बद्री भिखारी, देवान किराँती, राधिका गुरागाईं, दिङ्लाली कान्छो, मधु पोखरेल, चूडामणि नेपाल अकिञ्चन, सुमन पोखरेल, शुभलक्ष्मी लम्साल, भरत विकल्प, दीपक शम्चु, उमेश लुइँटेल, धीरज राई, विराट अनुपमलगायत चितवन, मोरङ, धनकुटा, झापाबाट सहभागी दुई दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदित, चितवनका साहित्यकार उदय अधकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।