१२ मंसिर,विराटनगर/ नेपालमा क्षयरोगीको पहिचानमा कठिनाई हुँदा रोग निवारणमा समस्या भएको सरोकारवालाहरुले बताएका छन् । आज ६२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाई रहदा सरोकारवालाहरुले रोग पहिचानमा समस्या भएको बताएका हुन् ।
क्षयरोग आँखाले नदेखिने माइक्रो ब्याक्टेरियम भन्ने सुक्ष्म किटाणुबाट लाग्ने सरुवा
रोग हो । एक जना फोक्साका क्षयरोगीले उपचार नलिएमा १ बर्षमा १० देखि १५ जना सम्मलाई क्षयरोग सर्न सक्छ । प्रत्येक बर्ष नेपालमा क्षय रोगीको संख्या बढ्दो
क्रममा छ । नेपालमा प्रत्येक बर्ष ४० हजार क्षयरोगीहरु थपिने गरेको तथ्यांक छ ।
नेपालमा प्रत्येक बर्ष ५ हजारदेखि ७ हजार मानिसहरु क्षयरोगको कारण मर्ने गरेका छन् । पूर्वाञ्चलमा आर्थिक बर्ष २०७१/०७२ मा ६ हजार १ सय २ जना नयाँ क्षयरोगी पत्ता लागेका छन् । रोग निको पार्न क्षयरोग निवारण संस्था सफल भएपनि रोगी पहिचान गर्न समस्या रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका क्षयकुष्ठ अधिकृत ध्रुव उराँव बताउछन् ।
आर्थिक बर्ष २०७१/०७२ मा झापामा १ हजार १ सय ५४, मोरङमा १ हजार २ सय ३२, सुनसरीमा ९ सय २५ जना नयाँ क्षयरोगी फेला परेका छन् । क्षयरोगीको संख्या प्रत्येक बर्ष वृद्धि भएकाले सबै मिलेर क्षयरोगीको पहिचानमा जोड दिनुपर्ने नेपाल क्षयरोग निवारण संस्था मोरङका सभापति नारायणप्रसाद श्रेष्ठको भनाइ छ ।
साँझपख ज्वरो आउनु, दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, खान मन नलाग्नु, खकारमा रगत देखिनु, छाती दुख्नु क्षयरोगका मुख्य लक्षण भएको चिकित्सकहरु बताउँछन् । पहाडका जिल्लाहरुमा भन्दा तराईका जिल्लाहरुमा क्षयरोगीको संख्या बढेर गएको पाइएको छ
समयमै अस्पताल गएर नियमितरुपमा औषधि सेवन गरे क्षयरोग पूर्णरुपमा निको हुन्छ । तर रोगको पहिचान गर्न नसक्दा सर्वसाधारण अकालमै ज्यान गुमाउन बाध्य छन् ।
कसरी सर्छ ?
क्षयरोग श्वास–प्रश्वासको माध्यमबाट सर्ने रोग भएकाले खोक्दा र हाच्छिउँ गर्दा सर्छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधी सेवन गर्दा क्षयरोग निको समेत हुन्छ । क्षयरोगका लक्षणको बारेमा सर्वसाधारणलाई जानकारी गराइ समयमै उपचार सेवा प्रदान गर्न सके क्षयरोगबाट हुने मृत्यु दरमा कमि ल्याउन सकिन्छ ।