डुम्रे टोल सुधार समितिद्वरा गठित गस्ती टोलीको एक झुण्ड ।
उर्लाबारी /२० जना युवाहरु हातमा लाठी लिएर रातको समयमा हिड्छन् । त्यो जमातलाई देख्दा जोकोहीलाई डरत्रास हुनसक्छ । जंगल प्रवेश क्षेत्रमै ती युवाहरु देखिदा चर्चा हुन सक्छ । यथार्थ भने फरक छ ।
हातमा लाठी बोक्ने ती युवाहरु देख्दा डर नमाने हुन्छ । गाँउको सुरक्षाका लागि उनीहरु खटिएका हुन् । टोलमा हुन सक्ने सम्भावीत घटना हुन नदिन तथा शान्ति राख्नका लागि ती युवाहरु टोल सुधार समितिबाट खटिएका हुन् ।
मोरङ उर्लाबारी–७ डुम्रे क्षेत्रमा रातको समयमा मापसे गरी होहल्ला गर्ने तथा सिमसार क्षेत्रमा अवैध गतिविधि बढ्न थालेपछि डुम्रे टोल सुधार समितिले ती युवाहरुलाई परिचालन गरी गस्ती गर्न थालेको हो । समितिका अध्यक्ष शंकर थपलियाका अनुसार विगत चार महिनादेखि त्यस क्षेत्रमा युवाहरु यसरी गाउको सुरक्षामा खटिएका हुन् ।राती पौने आठ बजे युवाहरु एक ठाँउमा भेला हुन्छन् । लाठी र टर्च लाइट युवाहरुलाई दिइन्छ ।
विभिन्न समूह बनाएर डुम्रे क्षेत्रका सबै १० वटै टोलमा युवाहरु फन्को लगाउँछन् । एउटा टोली सिमसार क्षेत्रमा घुम्छ भने अर्को गाँउप्रवेश क्षेत्रमा बस्छन् । अन्य,टोलहरुमा यसैगरी गस्ती गरिन्छ । शंकास्पद व्यक्ति भेटिए,सो टोलीले प्रहरीलाई खबर गर्छ । राती आठ बजे शुरु हुने गस्ती १२ बजेसम्म हुन्छ । यस्तै, हप्ताको दुई दिन युवाहरु ‘छड्के गस्ती’मा जान्छन् । टोल सुधार समितिका सदस्य ददीराम पोख्रेलले भने–‘आँखा छलेर अवैध गतिविधि हुनसक्ने भएकाले छड्के गस्ती गर्न थालिएको हो । ’ उनी भन्छन्–‘गाँउमा विकृति र विसंगती बढ्ने सक्ने भएकाले त्यसलाई मत्थर पार्न यो अभियानले सघाउ पुर्याउँछ । ’
डुम्रे नजिकै बेतिनी सिमसार तथा जंगल क्षेत्र पर्छ । त्यस क्षेत्रमा १० भन्दा बढि टोलहरु छन् । जहाँ दुईसयभन्दा बढि घरपरिवारका हजारबढि सदस्यको बसोबास छ । त्यस क्षेत्रमा पहिले–पहिले मापसे गरी हो–हल्ला गर्ने,सिमसारमा आउनेहरुले अवैध यौनजन्य गतिविधिहरु सञ्चालन गर्ने तथा तस्करहरु सक्रिय हुने गर्थे । यस्ता गतिविधिहरु गर्ने धेरैलाई प्रहरीले पक्राउ गरी कारवाही पनि गर्यो । मापसे गरी झगडा गर्ने जस्ता घटनाहरु बढ्न थालेपछि स्थानीयले टोल सुधार समितिको गठन गरेर रात्री गस्तीलाई व्यापकता दिन थालेका हुन् ।
‘गस्ती शुरु हुनुभन्दा अगाडि रातको समयमा अवैध काठ ओसारपोसरका घटनाहरु हुन्थे ।’टोल सुधार समितिका संयोजक शंकर थपलियाले भने–‘गस्ती गरेयता ती घटनाहरुमा कमी आएको छ । ’ शंकास्पद गतिविधि गर्नेहरुलाई गस्ती टोलीले पक्रेर प्रहरीलाई बुझाइदिन्छ । प्रहरीको समन्वयमा शुरु गरिएको सो गस्तीमा सहभागी युवाहरुलाई तालिम समेत दिइएको छ । अस्थायी प्रहरी चौकी मंगलबारेका इन्चार्ज राम शेर्पाले भने–‘आचारसंहिता निर्माण गरी प्रहरीको समन्वयमा थालिएको यो गस्ती निकै प्रभावकारी बनेको छ । ’
युवाहरुले गस्तीसँगै त्यस क्षेत्रमा हुने आपराधिक घटनाहरुमा कमी आएको छ । उर्लाबारी–१ आइतबारेमा पनि सिर्जनशील एकता युवा क्लबले यस्तै किसिमको गस्ती गर्दै आएको छ । सो क्लबका सचिवका सुनिल बोहराका अनुसार प्रत्येक त्यस क्षेत्रमा वर्षको तीन महिना गस्ती हुदै आएको छ । सिर्जनशील एकता युवा क्लबले त्यस क्षेत्रमा भदौ,आसोज र कात्र्तिक महिना प्रहरीको समन्वयमा गस्ती गर्छ । अन्य महिनाहरुमा फोनबाट जानकारी संकलन गर्ने तथा सम्भावीत घटनाहरु हुनसक्ने भए प्रहरीलाई खबर गरिन्छ । सो क्लबले हाल आइतबारे चोक,क्याम्पस मोड,डाँडा गाँउ आइतबारे र खोर्सानीबारी क्षेत्रमा स्थानीयको समन्वय गरी फोन मार्फत नियमित जानकारी लिदै आएको छ ।
बिनावर्दी युवाहरुले रातको समयमा गरेको यसका प्रकारको कार्य रचानात्मक रहेको स्थानीयवासी बताँछन् ।