पूर्वाञ्चलमा हत्याको घटना बढ्यो, तीन महिनामा ४४ को हत्या
पूर्वाञ्चल खबर
३ मंसिर २०७३, शुक्रबार १७:४९
3
Shares
अनिल श्रेष्ठ
३ मंसिर, विराटनगर/ पूर्वाञ्चलमा पछिल्लो समय हत्याको घटनामा बृद्धि भएको छ ।
क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०७३/०७४ को साउनदेखि असोजसम्म ४४ जनाको हत्या भएको छ ।
प्रहरीले पूर्व क्षेत्रभरीमा ४४ वटा हत्या र ४९ वटा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरको तथ्यांकमा देखिएको छ । गत आर्थिक वर्ष ०७२/०७३ को साउनदेखि असोज अन्तिमसम्मको अबधिमा ३१ वटा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गराएको थियो । यो तथ्यांक अनुसार चालु आर्थिक वर्षमा हत्याको घटना बढेको देखिन्छ ।
पूर्वाञ्चलको १६ वटा जिल्लामध्ये मोरङमा सबैभन्दा बढी हत्याको घटना भएको तथ्यांकमा देखिन्छ । मोरङमा चालु आर्थिक वर्षको असोजसम्म १० वटा कर्तब्य ज्यान र ६ वटा ज्यान मार्ने उद्योगका मुद्दा दर्ता गराएको प्रहरीको तथ्यांक छ ।
पूर्वाञ्चलमा मोरङपछि खोटाङमा बढी हत्या र हत्या प्रयासका घटना भएका छन् । खोटाङमा तीन महिनामा ७ वटा हत्या र २ वटा हत्या प्रयासका घटना दर्ता भएका छन् । यस्तै झापामा ६ वटा हत्यार ४ वटा हत्या प्रयासका घटना भएका छन् । सुनसरीमा सुनसरीमा चार वटा हत्या र १७ वटा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएको छ ।
पूर्वाञ्चलको सबैभन्दा कम हत्याको घटना भएको जिल्लामा उदयपुर, भोजपुर, तेह्रथुम, पाँचथर र धनकुटा रहेका छन् । ती जिल्लामा १÷१ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ ।