पूर्वाञ्चल खबर
विराटनगर,२७ कार्तिक/ किरण चेम्जोङ नायक बन्दा नेपालले लाओसलाई पेनाल्टि सुटआउटमा पराजित गर्दै सोलिडारिटी कप फुटबलको उपाधि नजिक प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो ।
अहिले भर्खर मलेसियाको कोचिङमा सकिएको प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा नेपालले लाओसलाई पेनाल्टि सुटआउटमा ३–० को गोल अन्तरले पन्छ्याउँदै फाइनलको यात्रा तय गरेको हो ।
शनिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको खेलमा दुवै टिमले २–२ गोलको बराबरीमा खेल टुँग्यिाएपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट भएको थियो ।
पेनाल्टी सुटआउटमा नेपालका हेमन्त गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले हानेको प्रहार गोलमा परिणत भएको थियो ।
लाओसका दुई खेलाडीको पेनाल्टी किरणले रोकेपछि तेस्रो पेनाल्टी प्रहार गर्न आएका खेलाडीले गोल पोस्टभन्दा बाहिरिए पछि नेपालको जीत सुनिश्चित भएको थियो ।
यसअघि पहिलो हाफको १८ औं मिनेटमा लाओसका चाम्पा थोङले गोल गर्दै आफ्नो टोलीलार्इ पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। तर, दोस्रो हाफ शुरू भएको दोस्रो मिनेटमा नै नेपालले गोल गर्दे खेललार्इ एक एक गोलको बराबरीमा ल्याएको थियो । नेपालका लागि बिमल घर्ती मगरले भरत खवासको पासमा हेडरमार्फत गोल गरेका थिए।
दुबै टोलीले केही मौका पाएपनि थप गोल गर्न सकेन र, निर्धारित समयको खेल १–१ को बराबरीमा सकियो । अतिरिक्त समयको १४ औं मिनेटमा अनन्त तामाङले हेमन्त गुरूङको पासमा गोल गर्दै नेपाललार्इ २–१ को अग्रता दिलाएका थिए। तर, लाओसका चाम्पा थोङले २७ औं हेडरमार्फत गोल फर्काइ खेल बराबरीमा ल्याए पछि खेल पेनाल्टी सुटआउटमा धकेलेको थियोे ।