पूर्वाञ्चल खबर
पुष्पराज थपलिया
विराटनगर, २६ कार्तिक / मोरङको टंकिसिनवारी – २ मा रहेको उद्योगी मोती दुगडको दुगड स्पाइसेस एण्ड फुट प्रोडक्ट प्रा.लि.को सेञ्चुरी मसला उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा आएको छ ।
बिहीबार साँझ साढे ६ बजे देखि सेञ्चुरी मसला प्याकिङ उद्योगमा लागेको आगो आज शुक्रबार विहान ७ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।
सुनसरी, मोरङ र झापाको एक दर्जन दमकलको साथै सुरक्षाकर्मी र स्थानियबासीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
विद्युतको तार सट भएर आगलागिबाट के कति क्षति भएको विवरण आहिलेसम्म नआएको डिएसपी थापाले बताए । आगजनीबाट ठूलो आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।
सो उद्योगमा सेन्चुरी मसला,कुरमुरे तथा काटुन फ्याक्ट्री संचालनमा रहेको थियो । उक्त फ्याक्ट्रीमा राखिएका तयारी सामान, कच्चा पदार्थ, र औजार समेत जलेर नष्ट भएको प्रहरीले अनुमान गरेको छ ।