पूर्वाञ्चल खबर
विराटनगर/ महिला ससक्तिकरणको क्षेत्रमा काम गर्दै आएको जागरण नेपाल विराटनगरले जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यलयलाई जवाफदेही रुपमा काम गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएको छ ।
बिहिवार विभिन्न गाविसबाट आएका प्रतिनिधी सहित जिल्ला जनस्वास्थ्य र शिक्षा कार्यालय पुगेको टोलीले जवाफदेही भएर सहभागिता मुलक कार्यक्रम सञ्चालनगर्न भन्दै ध्यनाकर्षण गराएको हो ।
जिल्ला शिक्षा कार्यालय पुगेको टोलीले विद्यालय व्यावस्थापन समितिमा अनिवार्य महिला सहभागिताको व्यावस्था भएपनि प्रभावकारी कार्यनयन नभएको, विद्यालयमा विद्यार्थीको उपस्थिती कम भएको, कतिपय विद्यालयमा शिक्षक अभिभावक संघ गठन नभएको भन्दै ध्यानाकर्षण गराएको जागरण नेपालकी प्रतिक्षा बस्नेतले जानकारी दिइन ।
जवाफमा जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले विद्यालयहरुमा महिला सहभागिताकालागि कामहरु सञ्चालन गरीरहेको बताए । उनले विद्यालयको पढाईलाई प्रभावकारी भनाउन स्थानीय अभिभावकहरुले पनि निरन्तर निगरानी गर्न आवश्यक रहेको बताएका थिए ।
सस्थाले जनस्वास्थ्य कार्यालयमा स्थानीय स्वास्थ्य संस्थामा तालुक निकायबाट निरन्तर अनुगमन नहुँदा सेवाग्रहीहरु समस्या भोग्न बाध्य बनेका, निःशुल्क वितरण हुने औषधिको अभाव भएको, स्थानीय स्वास्थ्य संस्था ब्यवस्थापन समिति निश्किृय भएको र सकृयमा समावेशी प्रतिनिधीत्व हुन नसकेको भन्दै ध्यानाकर्षण गराएको थियो ।