खबर पूर्वाञ्चल
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्रकारहरुको देउसी टोलीसँग छमछम नाचेका छन् ।
रिपोर्टर्स क्लब नेपालको नेतृत्वमा पत्रकारहरुको देउसी-भैलो टोली आइतबार बालुवाटार पुगेको थियो । प्रधाानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुसँग कुराकानी गरे र पत्रकार ऋषि धमला नाच्न आग्रह गरे ।
त्यसलाई टार्न नसकेका माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड सञ्चारकर्मीहरुसँग छमछमी नाचेका का छन् ।
एमालेसँगको तिक्तता अन्त्य भइसक्यो
प्रधानमन्त्री प्रचण्डले सत्ता र प्रतिपक्षवीचको तित्तता हट्दै गएको बताए । ‘म प्रधानमन्त्री बन्दै गर्दा सत्ता पक्ष र प्रतिपक्षको बीचमा अलि बढी नै तिक्तता बढ्ने हो कि भन्ने पनि थियो,’ प्रचण्डले भने, ‘तर यहाँसम्म आइपुग्दा अहिले वातावरण निकै नै सहज, सकारात्मक र सम्वाद पनि उत्साहपूर्ण ढंगले अगाडि बढेको छ ।’
उनले छिट्टै संविधान संशोधन हुने र मुलुकमा निर्वाचन हुने वातावरण बन्ने दाबी समेत गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले संविधानको स्वीकार्यतालाई फराकिलो पार्ने र निर्वाचनमा जाने नै सरकारको सबैभन्दा ठूलो चुनौति रहेको बताए । उनले अहोरात्र खटेर यसैको निम्ति काम गरिरहेको बताए ।
अहिलेसम्मको उपलब्धीको रक्षा गर्ने बाटो नै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन हो भन्दै उनले यसमा कोही पनि द्विविधामा पर्न नहुने उनले बताए । ‘देशलाई एकताबद्ध गर्ने, सबै राजनीतिक दल र शक्तिहरुलाई पनि सहमतिमा ल्याउने, संविधानमा केही संशोधन गरेर यसको स्वीकार्यतालाई फराकिलो पार्ने र निर्वाचनमा जाने । सबैभन्दा पहिले स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछि प्रदेश र केन्द्रको । यो नै अहिलेसम्मको उपलब्धीको रक्षा गर्ने बाटो हो । यो बाटोमा कोही कतै द्विविधामा पर्नु हुँदैन,’ प्रचण्डले भने । अनलाइनखबर