खबर पूर्वाञ्चल
इलाम, कात्तिक ३/दानाबारी र महमाई बीचको माईखोलाको चण्डालघाटमा डुङ्गा दुर्घटनापछि स्थगित गरिएको डुङ्गा सेवा मङ्गलबारदेखि पुनः सञ्चालनमा आएको छ।
गत असोज २८ गते शुक्रबार माईखोलामा डुङ्गा पल्टिएर आठ जनाको ज्यान गएपछि केही समयका लागि डुङ्गा सञ्चालन स्थगित गरिएको थियो। यात्रुको सहजतालाई मध्यनजर गर्दै कोदोबारी दोभानमा डुङ्गा सञ्चालन गरिएको हो। यसअघि पनि सोही स्थानबाट डुङ्गा सञ्चालन हुँदै आएको थियो।दुर्घटनास्थल लोदिया दोभानमा भने अझसम्म डुङ्गा सञ्चालनमा आउन नसकेको चन्द्र तामाङले जानकारी दिए। अहिले चण्डालघाटमा सञ्चालित डुङ्गाका लागि १० र कोदोबारीको डुङ्गाका लागि सातवटा लाइफ ज्याकेटको व्यवस्था गरिएको छ।
बाँकी लाइफ ज्याकेट र ट्युब महमाई गाविसले अन्य सहयोगी निकायसँग सहकार्य गरी खरिद गरी वितरण गर्ने गाविस सचिव चन्द्र पौडेलले बताए। दुर्घटनालाई मध्यनजर गर्दै प्रहरी चौकी र गाविस कर्मचारीको निगरानीमा अहिले डुङ्गा सञ्चालन भएको हो।
डुङ्गामा १५ भन्दा बढी यात्रु चढाउन नपाउने
माईखोलामा अब डुङ्गा सञ्चालन गर्दा एक पटकमा १५ जनाभन्दा बढी यात्रु चढाउन नपाइने भएको छ। माईखोलामा भएको डुङ्गा दुर्घटनापछि बसेको महमाईका राजनीतिक दल संयन्त्रको भेलाले यस्तो निर्णय गरेको हो। डुङ्गामा चढ्ने सबै यात्रुले अनिवार्य रूपमा लाइफ ज्याकेट लगाउनुपर्नेछ। सम्भावित दुर्घटना न्यूनीकरण, सुरक्षित र व्यवस्थित सञ्चालन गर्नका लागि डुङ्गामा चढ्ने यात्रुको नाम, थर, वतनसहितको रेकर्ड राखिने भएको छ।
मनपरी शुल्क असुल्दै आएका डुङ्गा व्यवसायीले अबदेखि जिल्ला विकास समिति इलामसँग २०७० साल साउनमा भएको सम्झौतामा उल्लेख भएबमोजिमको मात्र शुल्क उठाउन पाउनेछन्। तोकिएभन्दा बढी शुल्क उठाएमा कारबाहीको दायरामा ल्याउन सकिने गाविस सचिव पौडेलले बताए। यसअघि माईखोलामा सञ्चालित डुङ्गाले ३० देखि दुई सय रूपैयाँसम्म शुल्क लिँदै आएका थिए। रासस