पूर्वाञ्चल खबर
३० कात्तिक, विराटनगर/ नेपालले मलेसियामा जारीे एएफसी सोलिडारिटी कपको उपाधि जितेर ६२ वर्षपछि नयाँ इतिहास रचेको छ । यो उपाधिसँगै सन् १९५४ मा एसियाली फुटबल महासंघ (एएफसी)को सदस्यता लिएपछि नेपालले एएफसीले आयोजना गरेको आधिकारिक प्रतियोगिताको पहिलो पटक उपाधि जिती नयाँ इतिहास कोरेको हो ।
जनवरी २०१६ मा राष्ट्रिय टिमले बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो भने नेपालको यू–२३ टिमले फेब्रअरीमा भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक हात पारेको थियो । मलेसियाको कोचिङस्थित सरावक रंगशालामा खेल सुरु हुनुअघि ठूलो पानी परेको थियो ।
पानीले ओसिलो भएको मैदानमा कुनै पनि समय मकाउले पुनरागमन गर्न सकेन् । नेपालको जितमा मिडफिल्डर सुजल श्रेष्ठले २९ मिनेटमा गोल गरे । जुन पछि निर्णायक गोल बन्न पुग्यो । उनलाई भरत खवासले डिबक्सबाट दिएको क्रस पासको सदुपयो गर्दै सुजलले हेडिङमार्फत गोल गरेका थिए ।
खेल अवधीभर नेपालले मकाउलाई दवावमा राखेको थियो । नेपालले गोल गर्ने आधा दर्जनबढि अवसर बनाएपनि एक भन्दा बढि गोल गर्न सकेन । नेपालका स्टाइकर नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्तीमगरले पटक पटक सुनौलो अवसर पाएपनि मैदान भिजेका कारण गोल गर्न चुकेका थिए ।