उर्लाबारी, ६ जेठ /नेपाली कांग्रेस उर्लाबारी वडा नम्बर ६ (साबिक ३) को चुनाव प्रचार प्रसार समितीको कार्यालय स्थापना भएकोे छ ।
आज वडा कार्यालयमा आयोजित कांग्रेसजनका भेलाका बीच मोरङ ९ नम्बर क्षेत्रीय सभापति तथा मेयरका दाबेदार खड्ग फागोले ६ नम्बर वडा कार्यालयलाई प्रचार प्रसारको कार्यालयको रूपमा उद्घाटन गरेका हुन् ।
सो अबसरमा उनले जनता कांग्रेसको पक्षमा रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा आफू लगायत सिङ्गो टिमले विजय हासिल गर्नेमा ढुक्क रहेको बताएका छन् । हावा दारी गफ मात्रै गर्नु भन्दा पनि बिकास निर्माणका काम गर्नुका साथै जनताको सुख दुःखको सारथी बन्न सक्नुपर्छ भन्दै फागोले भने जनताको मन जित्न सके चुनाव जित्नु कुनै ठूलो कुरा हैन ।
सोही अबसरमा आईतबारसम्म उर्लाबारीका सबै वडाका उम्मेदवारको टुंगो लागि सक्ने नेपाली कांग्रेस महासमिति सदस्य ललित अधिकारीले जानकारी गराएका छन् ।
उम्मेदवार बन्ने चाहना भएर पनि टिकट नपाएका कांग्रेस कार्यकर्तालाई हतोत्साहित नहुन पार्टीका क्षेत्रीय प्रतिनिधि भोलामान श्रेष्ठले आग्रह गरेका छन् । पार्टीले दिएको जिम्मेवारीलाई सफलताका साथ निर्वाह गर्नु नै एउटा कार्यकर्ताको कर्तव्य रहेको पनि श्रेष्ठले बताएका छन् । पार्टीले उठाएका जो सुकै उम्मेद्वारलाई पनि सबैले खुलेर साथ सहयोग गर्नुपर्ने कार्यक्रमका सभापति जनक खड्काले बताएका छन् ।