पूर्वाञ्चल खबर
विराटनगर/ वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले काठमाडौंमा बालबालिका सहित २२ जना स्रष्टाहरूलाई पुरस्कार समर्पण गरेका छन् ।
नइ प्रकाशनले हरेक वर्षवाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीकै शुभजन्मोत्सवका अवसरमा आफ्नो वाषिर्क कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
नेपाल सरकारबाट वाङमय शताब्दी पुरूषको उपाधिबाट विभूषित हुनु भएको उपलक्ष्यमा नइ प्रकाशनका तर्फबाट डा.सत्यमोहन जोशीलाई जरीजटित दुबोको माला लगाएर बधाई ज्ञापन गरियो । उनलाई प्राध्यापक शिवगोपाल रिसालले माला लगाएर वाङमय शताब्दी पुरूषको थप कीर्तिमय र दीर्घ जीवनको कामना गरे । साथै उनको ९८ औं शुभजन्मोत्सवका अवसरमा नइबाट उनलाई शुभकामना अर्पण गरिएको थियो ।
समारोहमा वाङमय शताब्दी पुरूष डा. सत्यमोहन जोशीले दुई लाख रुपिया राशि र ताम्रपत्र सहित नइ देरुनीख अन्तर्रा्ष्ट्रिय पुरस्कार भारतका श्रीमती विन्द्या सुब्बालाई समर्पण गरे । विगत पाँच दशकअघिदेखि नेपाली वाङमयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तराष्ट्रिय विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याएबापत उनलाई सो पुरस्कार समर्पण गरिएको हो ।
त्यसै गरी साहित्यकार, संस्कृतिविद्, चित्रकार तथा आयुर्वेदाचार्य डा.मोदनाथ प्रश्रितलाई ’नइ खरा सुकीर्ति पुरस्कार’ समर्पण गरिएको छ । समारोहमा ताम्रपत्र सहित ७ जना व्यक्तित्वलाई जनही ५० हजार रूपियाँ राशिका पुरस्कार समर्पण गरिएको थियो ।