RUMPUM
animated ellipse animated ellipse

गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ? विषयक कोशी प्रदेशस्तरीय शैक्षिक सम्मेलन सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ मंसिर २०८३, आईतवार १७:३४
3
Shares
विराटनगर / प्रारम्भिक बाल शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यका साथ गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ? विषयक कोशी प्रदेशस्तरीय शैक्षिक सम्मेलन आज सम्पन्न भएको छ ।

विराटनगरको एभरेष्ट कलेजमा दोस्रो दिनको कार्यशाला, समूहगत छलफल, व्यवहारिक अभ्यासपछि सम्मेलन सम्पन्न भएको हो । विभिन्न विषयगत समूहमा भएको कार्यशालामा विषयगत विज्ञहरुले सहजिकरण गरेका छन् ।

सम्मेलनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट नीजि तथा सामुदायिक विद्यालयका करिब चारसय शिक्षक, शिक्षिका सहभागि भए। सम्मेलनमा बाल मस्तिष्कको विकास क्रमसँगै उनीहरुसँग कस्तो व्यवहार गर्ने, कसरी अध्यापन गराउने, शैक्षिक वातावरण कस्तो हुनुपर्छ, सिकाई पद्दति कस्तो हुनुपर्छ लगायतका विषयमा छलफल र सहजिकरण भएको छ । कार्यक्रममा उपस्थित शिक्षक शिक्षिकाहरुले यो सम्मेलन प्रारम्भिक बालशिक्षाको लागि अत्यन्त फलदायी भएको भन्दै यसको प्रतिफल क्रमशः आउने विश्वास ब्यक्त गरे ।

कार्यक्रमलाई सहिजकरण गर्दै रातो बंगला फाउण्डेसनकी अध्यक्ष शान्ता दिक्षितले विभिन्न तथ्यहरु प्रस्तुत गर्दै कसरी शिक्षण सिकाई गर्दा गुणस्तर कायम गर्न सकिन्छ भन्ने विषयमा बुझाइन् । उनले विराटनगरको एभरेष्ट सेकेण्डरी स्कुलले प्राप्त गर्दै गएको उपलब्धि पनि गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको सिकाई पद्दतिले गर्दा भएको बताइन् । उनले उपस्थित शिक्षक शिक्षिकाले सम्मेलनमा बुझेका विषयहरुलाई आफ्ना विद्यालयमा पुगेर कार्यान्वयन गर्दा कोशी प्रदेशकै शिक्षाको स्तरमा अभिवृद्धि हुने विश्वास ब्यक्त गरे।

दोस्रो दिनको सत्रको प्रारम्भमा स्वागत मन्तव्य राख्दै एभरेष्ट सेकेण्डरी स्कुलका प्रिन्सिपल टिकाराम पुरीले अभिभावकले खाई नखाई राम्रो स्कुलमा पढाउन चाहने गरेको भन्दै त्यसको उद्देश्य आफ्नो बच्चाको भविष्य उज्वल बनोस भनेर नै रहेको बताए । ‘बच्चाको भविष्य राम्रो बनाउन गुणस्तरीय प्रारम्भिक बालशिक्षाको आवश्यकता छ भन्दै उनले भने,‘विद्यालय सुधार हुन शिक्षक राम्रो हुनुपर्छ, यो सम्मेलनले त्यसको वातावरण बनाउँछ ।’ सूर्य र शिक्षक उस्तै उस्तै रहेको भन्दै प्रिन्सिपल पुरीले भने,‘सूर्यले उज्यालोको लागि किरण छरे जस्तै शिक्षकले शिक्षाको किरण छर्ने हो ।’ उनले एउटा विद्यालयलाई सफल बनाउन व्यवस्थापकीय, शैक्षिक वातावरण, भौतिक पूर्वाधार र दक्ष शिक्षक अपरिहार्य हुने बताए।

कार्यक्रममा रातो बंगला स्कुलकी प्रिन्सिपल मिलन दिक्षित, एभरेष्ष्ट सेकेण्डरी स्कुलका अध्यक्ष विनोद ढकाल, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायत विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन रातो बंगला फाउण्डेसनकी कार्यकारी निर्देशक एलिन सुब्बाले गरिन् । हिजो होटल स्वागतममा उद्घाटन भएको सम्मेलन आज एभरेष्ट कलेजमा सञ्चालन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर