पूर्वाञ्चल खबर
नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा महामन्त्री आचार्यलाई सञ्चार क्षेत्रका विभिन्न समस्या र पत्रकारितासम्बन्धी मागहरू समेटिएको ध्यानाकर्षण पत्र बुझाएको थियो। सोही पत्र बुझ्दै आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टी दृढ रहेको बताएका हुन्।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा रास्वपा कहिल्यै सम्झौता गर्दैन। हिजो पनि हाम्रो अडान यही थियो, आज पनि छ र भोलि पनि कायम रहनेछ,’ उनले भने, ‘पत्रकार महासंघले उठाएका विषय र मागलाई गम्भीरतापूर्वक अध्ययन गरेर सम्बन्धित निकायमा पुर्याउनेछु।’
पत्रकारिता समाजको अभिन्न अंग भएको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउन रास्वपा प्रतिबद्ध रहेको बताए। महासंघले उठाएका माग सम्बोधनका लागि आफूले आवश्यक पहल गर्ने उनको भनाइ थियो।
महासंघ मोरङले बुझाएको ध्यानाकर्षण पत्रमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्न खोजेको भन्दै आपत्ति जनाएको छ। सञ्चारमाध्यममा अनधिकृत रूपमा अवरोध सिर्जना गर्ने घटनामा संलग्नलाई कारबाही नगरी सरकारले दण्डहीनतालाई प्रश्रय दिएको आरोपसमेत पत्रमा लगाइएको छ।
त्यस्तै, गोरखापत्र, राष्ट्रिय समाचार समिति ९रासस० लगायत सरकारी तथा निजी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन गर्दै पारिश्रमिक नदिइएको विषय पनि महासंघले उठाएको छ।
सरकारी विज्ञापन तथा सूचना वितरणमा सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्नुपर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको, लोककल्याणकारी विज्ञापन कटौती गरी सञ्चारमाध्यमलाई आर्थिक दबाबमा पारिएको तथा सूचनामा पहुँच सीमित गरिएको भन्दै महासंघले आपत्ति जनाएको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको श्रम अधिकार सुनिश्चितता, सञ्चारमाध्यमको आर्थिक तथा व्यावसायिक सुरक्षा लगायतका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले नेपाल पत्रकार महासंघ आन्दोलनमा रहेको जनाएको छ।