पूर्वाञ्चल खबर
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।
लगातार दोस्रो पटक फाइनलमा आमनेसामने भएका दुवै टोली उपाधि जित्ने लक्ष्यमा छन् । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी च्याम्पियन बनेको थियो । यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्य लुम्बिनीको छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ ।
लिग चरणमा ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै फाइनल पुगेको हो । लिग चरणको भेटमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो ।
पहिलो क्वालिफायरमा पराजित भए पनि दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले फाइनल यात्रा तय गरेको हो । १० अंकसहित लिग चरणमा दोस्रो भएको सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको टोली हो ।
पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक उपाधिविहीन यात्राको अन्त्य गर्न चाहन्छ ।
लुम्बिनीका रोहित पौडेल र सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेका दुवै टोलीमा अनुभवी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी छन् ।