पूर्वाञ्चल खबर
आज सम्पन्न दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले फाइनलमा लुम्बिनी लायन्ससँगको भेट पक्का गरेको हो।
सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ भने लुम्बिनी र सुदूरपश्चिम लगातार दोस्रो सिजन उपाधिका लागि आमनेसामने हुन लागेका हुन्।
एनपीएलको दोस्रो संस्करणमा पनि यी दुई टोलीबीच फाइनल प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। यस पटक पनि उपाधि भिडन्तमा दुवै टोली दोहोरिएका छन्।
लिग चरणमा लुम्बिनी लायन्स ११ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो भने सुदूरपश्चिम रोयल्स १० अंक जोड्दै दोस्रो स्थानमा रहेको थियो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई एकपक्षीय रूपमा पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको थियो। त्यसपछि दोस्रो क्वालिफायरमा चितवनलाई हराउँदै सुदूरपश्चिमले फाइनलमा पुनः लुम्बिनीसँग भिड्ने अवसर प्राप्त गरेको हो।
यस सिजन लुम्बिनी र सुदूरपश्चिमबीच दुई पटक प्रतिस्पर्धा भएको छ। दुवै खेलमा लुम्बिनीले जित हात पारेको छ। अब फाइनलमा यी दुई टोलीबीच हुने प्रतिस्पर्धा यस सिजनको तेस्रो भेट हुनेछ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले डाविड मलानको अविजित ७१ रनको मद्दतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९दशमलव ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले अविजित ५३ रन बनाए। उनले ४२ बलमा ७ चौका प्रहार गरे। साथै बलिङमा पनि २ विकेट लिएका थरिन्दु अलराउन्ड प्रदर्शन गर्दै टोलीको जितका नायक बने। उनले विजयी चौका पनि प्रहार गरे।
आक्रामक ब्याटिङ गरेका विनोद भण्डारीले १३ बलमा २३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले १५ तथा आरिफ शेखले १० रन जोडे। बलिङमा चितवनका रञ्जित कुमारले २ विकेट लिए।
पहिले ब्याटिङ गरेको चितवनका लागि मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित ७१ रन बनाए। सलाउद्दिन खानले १८ तथा कमलसिंह ऐरीले १० रन जोडे। बलिङमा सुदूरपश्चिमका स्कट कुगलेइनले ३ तथा थरिन्दु रत्नायकेले २ विकेट लिए।
अब सुदूरपश्चिमले उपाधिका लागि आगामी शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।