RUMPUM
animated ellipse animated ellipse

सन्दीपले ह्याट्रिकसहित ६ विकेट लिँदा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ दौडबाट बाहिरियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०८३, बिहीबार १६:२९
3
Shares
विराटनगर / विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिँदा विराटनगरले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा तेस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ।

पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९ दशमलव २ बलमा ६ विकेट गुमाएर लक्ष्य पार गरेको थियो । विराटनगरको जितमा बसिर अहमदले सर्वाधिक ३७ रन बनाए। उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, ओपनर लोकेश बमले २७ बलमा ३३ रनको योगदान दिए।

श्रीलंकन खेलाडी इसुरु उडानाले आक्रामक ब्याटिङ गर्दै १२ बलमा अविजित २५ रन बनाए। उनले ४ चौका र १ छक्का प्रहार गरे। विजयी चौका पनि उडानाले नै प्रहार गरेका थिए। अकौ श्रीलंकन खेलाडी शेहान जयसूर्याले अविजित १७ रन जोड्दै टोलीको जितमा साथ दिए।

्पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २–२ विकेट लिए भने बिपिन खत्री र धनन्जय लक्षणले १–१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७ दशमलव ५ बलमा सबै विकेट गुमाएर १३२ रन बनाएको थियो। पोखराका लागि क्यानेडियन खेलाडी युवराज सिंह सम्राले उत्कृष्ट ब्याटिङ गर्दै ४७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८४ रन बनाए। श्रीलंकन खेलाडी धनन्जय लक्षणले २२ रन र सन्नी विकले १२ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

विराटनगरका कप्तान सन्दीप लामिछानेले पोखराको ब्याटिङ धराशायी बनाउने क्रममा ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। उनले खेलको १५औँ ओभरमा लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। यससँगै उनी एनपीएल इतिहासमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि काठमाडौँ गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका रोहित पौडेलले ह्याट्रिक गरेका थिए।

सन्दीप एकै खेलमा ६ विकेट लिने एनपीएलका तेस्रो खेलाडीसमेत बनेका छन्। यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले यो उपलब्धि हासिल गरेका थिए। विशेष कुरा के छ भने सन्दीपले यसअघिका पाँच खेलमा जम्मा एक विकेट मात्र लिएका थिए।

यस जितसँगै ६ खेलबाट ६ अंक जोडेको विराटनगर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। टोलीको प्लेअफ पुग्ने सम्भावना कायम रहेको छ। विराटनगरले लिग चरणको अन्तिम खेल लुम्बिनी लायन्ससँग खेल्नेछ।

यता, पोखराको भने ६ खेलमा यो पाँचौँ हार हो। २ अंकसहित तालिकाको पुछारमा रहेको पोखरा एभेन्जर्स एनपीएलको प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर