RUMPUM
animated ellipse animated ellipse

चोरीको आरोप लगाएपछि रिसमा ब्याट्री व्यवसायी गुप्ताको हत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ कार्तिक २०८३, बुधबार ०८:५५
3
Shares
विराटनगर /सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केशलिया खोलामा बोराभित्र फेला परेका विराटनगरका लाल ब्याट्री व्यवसायी लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

चोरीको आरोप लगाएको रिसमा गुप्ताको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले गुप्ताको हत्या आरोपमा विराटनगर–६ का ३७ वर्षीय अब्जर मियाँलाई मंगलबार साँझ पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गुप्ताले आफ्नो पसलको सामान चोरी गरेको आरोप मियाँमाथि लगाउँदै आएका थिए। सोही विषयलाई लिएर मियाँले गुप्ताको हत्या गर्ने योजना बनाएको खुलेको प्रहरी स्रोतले जनाएको छ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार शुक्रबार राति मियाँले गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए। सोही क्रममा दुवैले मदिरा सेवन गरेका थिए। मदिराको नशामा रहेका बेला मियाँले सुरुमा बियरको बोतलले गुप्ताको टाउकोमा प्रहार गरेका थिए। त्यसपछि रडले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीले बताएका छन्।

भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) घर भएका गुप्ता लामो समयदेखि विराटनगरमा ब्याट्रीको कारोबार गर्दै आएका थिए। उनी विराटनगरमा एक्लै बस्दै आएका थिए।

हत्या गरेपछि शव बोरामा हालेर खोलामा
गुप्ताको हत्या गरेपछि शव व्यवस्थापन गर्न मियाँले सिटी सफारी प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या गरेपछि शव बोरामा हालेर सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलिया खोलामा फालेको प्रहरीको अनुसन्धानले देखाएको छ।

आइतबार बिहान स्थानीयवासीले खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले अनुसन्धान अघि बढाउँदै शवको पहिचान र घटनामा संलग्न व्यक्तिको खोजी गरेको थियो।

घटनाको अनुसन्धान प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले गरिरहेको छ।

घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्न सुनसरी प्रहरीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर