खबर पूर्वाञ्चल
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित १६ औँ स्मृतिसभामा विष्टलाई २१ हजार रूपैयाँ राशिको पुरस्कार प्रदान गरेका हुन् । विष्ट अहिले गोरखापत्र दैनिकमा कार्यरत छन् । उक्त समारोहलाई सम्बोधन गर्दै ज्ञवालीले राजनीतिक दलहरुले मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ लाग्न जरुरी रहेको बताए । मुलुकको विकास गरेर जनताको जीवनस्तर उकास्नेतर्फ दलहरुको ध्यान केन्द्रीत हुनुपर्नेमा उनको जोड छ ।
पूर्वमन्त्री ज्ञवालीले मुलुकमा केही भएको छैन भन्ने कुरा गलत भएको पनि बताए । आगामी सन् २०२६ मा नेपाल विकासशील देशमा परिणत हुन गइरहेको उनको भनाइ छ ।
मधेश प्रदेशमा खेतीका लागि आकाशे वर्षाको निर्भरता अन्त्य गर्न केही वर्षभित्र सुनकोशी डाइभर्सन निर्माण गरेर १ लाख ८२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइने बताए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले संघीयतापछि मुलुकले विकासमा फड्को मारेको बताए ।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देल, सम्मानित उद्यमी चेतन निरौला, एमाले नेता विनोद ढकाल, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले ठूलो संघर्ष गरेर कृष्णप्रसाद सिग्देलले सडकबाट व्यापार सुरु गरेको स्मरण गरे । सिग्देलले स्थापना गरेको ढुवानी व्यवसायमा आज ३ सय जनाले रोजगारी प्राप्त गरेको भन्दै उनीहरुले सिग्देल सबैको प्रेरणाको स्रोत भएको बताए ।
कार्यक्रममा एमाले उपमहासचिव ज्ञवालीले नेपाल साना तथा घरेलु उद्योग संघ मोरङका चेतन निरौला, महिला उद्यमी अम्बिता भण्डारी, जनता उच्च मावि मधुवन सुनसरीका विद्यार्थीहरु पिंकी खत्वे, सुशील खत्वे तथा स्वस्तिका ट्रान्सपोर्ट प्रा।लिका मजदुरहरुलाई कपडा तथा नगदसहित सम्मान गरेका छन् ।