पूर्वाञ्चल खबर
बडादशैंको पहिलो दिन आज रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना घर९घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजको दिन गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ ।
यसै दिनदेखि नवरात्र मेला पनि सुरु हुने भएकाले नौ दिन नै पायक परेका शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ पारायण गरेर दुर्गा भवानीको आराधना गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।
टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा
दशैंको टीका असोज २१ गते मंगलबार परेको छ । विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि १० बजेर २६ को शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।
धेरैजसो शैक्षिक संस्थाले आजैका दिनदेखि दशैँका अवसरमा सार्वजनिक बिदा दिने गर्दछन् । घटस्थापनाका अवसरमा दिने बिदा भने पछिल्ला वर्षमा कटौती गरिएको छ ।