पूर्वाञ्चल खबर
सशस्त्र प्रहरी बलको टोलीले असोज १० गते दिउँसो १२ बजे केसरीको तीनतले घरमा छापा मारेर करिब ९ लाख रुपैयाँ बराबरको ३५ बोरा बिलबिजक नभएको अवैध खाद्यान्न बरामद गरेको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानीका डीएसपी सूर्यप्रकाश शर्माको नेतृत्वमा खटिएको टोलीले घरको विभिन्न तलामा लुकाएर राखिएको अवस्थामा मरिच, ज्वानो, सोँफ, हिङलगायत सात प्रकारका खाद्यान्न बरामद गरेको हो।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख (एसपी) गेहेन्द्र भण्डारीका अनुसार बरामद ३५ बोरामध्ये सबैभन्दा धेरै दोस्रो तलामा २० बोरा सामान फेला परेको थियो। बाँकी सामान पहिलो र तेस्रो तलाका कोठाहरूमा भण्डारण गरिएको थियो। एसपी भण्डारीले भने, ‘सरकारी बिदा परेका कारण सोमबार कार्यालय खुल्नासाथ घरधनी र बरामद सामानसहितको प्रतिवेदन विराटनगर भन्सार कार्यालयमा बुझाउनेछौँ। थप अनुसन्धान र कारबाही भन्सारले नै गर्नेछ।’
यसरी चल्थ्यो तस्करीको सञ्जाल
अनुसन्धानका क्रममा व्यापारी केसरीले सीमावर्ती भारतीय बजार जोगबनी तथा सुनसरीको अमरडुवालगायतका चोरनाकाहरू प्रयोग गरेर खाद्यान्न तस्करी गराउने गरेको पाइएको छ। उनले क्यारिङ गर्नेहरूलाई प्रतिकिलोका हिसाबले खरिद गर्ने र उनीहरूलाई जोखिमबापत अतिरिक्त रकम दिने गरेका थिए। यसरी रातारात भरियामार्फत सरौचियास्थित आफ्नै तीनतले घरमा सामान संकलन गरी उनले विराटनगरका पुराना र नयाँ गुद्रीका थोक पसलहरू, ठूला डिपार्टमेन्ट स्टोर (भाटभटेनी र सेन्ट्रल मल) सम्म पुर्याउने गरेको खुलेको छ। विराटनगरबाहेक सुनसरीको इटहरी, धरान र झापाका विभिन्न बजारमा समेत उनले तस्करीको खाद्यान्न आपूर्ति गर्दै आएका थिए।
बरामद गरिएका कुनै पनि बोरा सिलबन्दी अवस्थामा भेटिएका छैनन्। ‘सबै बोराको मुख खोलिएको वा सिल तोडिएको अवस्थामा छ। तस्करी गरी ल्याइएका सामान मिसावट गर्ने र आफ्नै तरिकाले रि-प्याकिङ गरेर बजार पठाउने गरेको देखिन्छ,’ छापा मार्न पुगेका एक प्रहरी अधिकृतले बताए।
जोगबनी भागेर पक्राउबाट जोगिए केसरी
अघिल्लो रात नै केसरीको घरमा क्यारिङमार्फत ठूलो परिमाणमा तस्करीको सामान झारिएको सूचना सशस्त्र प्रहरीमा पुगेको थियो। प्रहरीले रेकी गरेर पुष्टि गरेपछि जिल्ला र गुल्मको संयुक्त टोलीले अप्रेसन चलाएको थियो। तर, छापा मार्ने बेला व्यापारी केसरी भने सीमापारि भारतको जोगबनी पुगिसकेका थिए, जसका कारण उनी तत्काल पक्राउ पर्नबाट जोगिए। केसरीले भने आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले भने, ‘सशस्त्र प्रहरीले घरमा छापा हानेको कुरा मैले दिउँसो मात्र थाहा पाएँ, म भारतमा थिएँ। मेरो घरमा कसले सामान ल्याइदियो मलाई थाहा छैन, क्यारिङ गर्नेले ल्याइदिएको हुनुपर्छ। त्यो सामान मेरो होइन।’ तपाईंको घरमा कसले सामान राखिदियो भनी थप प्रश्न गर्दा उनले फोन काटेका थिए।
गत भदौ ३ गते विराटनगर–१४ जतुवाका विनोद यादवको घरबाट ३ लाख ३८ हजारको रजनीगन्धा र लत्ताकपडा बरामद हुँदा प्रहरीले उनलाई तत्कालै पक्राउ गरी भन्सार बुझाएको थियो। तर, त्योभन्दा बढी परिमाणको सामान बरामद हुँदा पनि केसरी भने पक्राउ परेका छैनन्। यसबारे एसपी भण्डारीले भने, ‘हामी पुग्दा घरधनी घरमा थिएनन्। हामीले बरामद प्रतिवेदनमा उनको नाम खुलाएर पठाउनेछौँ, बाँकी प्रक्रिया भन्सारले अघि बढाउनेछ।’