AArya
RUMPUM
animated ellipse animated ellipse

परिवार बस्ने भन्दै कोठा भाडामा लिएर तस्करी,७ लाख ६१ हजार ८ सय रुपैयाँको कपडा बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ भाद्र २०८३, आईतवार ०८:०७
3
Shares
विराटनगर / परिवार बस्ने भन्दै घरको कोठा भाडामा लिएर भारतबाट तस्करी गरी ल्याइएका कपडा भण्डारण गर्ने गरिएको खुलेको छ।

विराटनगर महानगरपालिका–८ मधुमारास्थित एक घरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भण्डारण गरिएको रेडिमेड कपडा बरामद गरेपछि यस्तो तथ्य खुलेको हो।

सशस्त्र प्रहरीका अनुसार परशुराम पौडेलको घरमा भाडामा लिइएको कोठाबाट ११ बोरा रेडिमेड कपडा बरामद गरिएको छ। बरामद कपडामा कुर्ता, टप्सलगायत छन्। ती कपडाको मूल्य ७ लाख ६१ हजार ८ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। कपडासँगै एउटा स्टेपलाइजर पनि बरामद भएको छ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार उक्त कोठा परिवार बस्ने प्रयोजनका लागि भन्दै करिब ६ महिनाअघि भाडामा लिइएको थियो। तर, कोठामा मानिस नबसी भारतबाट रातको समयमा तस्करी गरी ल्याइएका कपडा भण्डारण गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। उनका अनुसार भारतको जोगबनीबाट भन्सार छली गरी नेपाल भित्र्याइएका कपडा मधुमारास्थित उक्त घरमा ल्याएर राख्ने र मागअनुसार विराटनगरसहित विभिन्न सहरमा पठाउने गरिएको थियो।

तस्करी गरी ल्याइएका कपडा भण्डारण गरिएको सूचना पाएपछि शनिबार बिहान करिब २ बजेदेखि घरलाई निगरानीमा राखेका थियौं,’ एसपी भण्डारीले भने, ‘उज्यालो भएपछि नेपाल प्रहरी, भन्सार कार्यालयका कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा कोठाको ताला फुटाएर खानतलासी गरिएको हो।’
प्रारम्भिक अनुसन्धानबाट उक्त कोठामा करिब ६ महिनादेखि कपडा भण्डारण हुँदै आएको देखिएको प्रहरीले जनाएको छ। कोठा भाडामा लिएर कपडा राख्ने व्यक्ति भने फरार छन्। उनको खोजी भइरहेको एसपी भण्डारीले बताए।

बरामद कपडा तथा अन्य सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यसैगरी विराटनगर–५ हरिहरपथस्थित हरिबहादुर कार्कीको घरमा मनोज चौधरी नाम गरेका व्यक्तिले भाडामा लिएको कोठाबाट पनि तस्करी गरी ल्याइएको कपडा बरामद भएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले उक्त कोठाबाट सानो–ठूलो गरी १० पोका कपडा बरामद गरेको हो।

चाडपर्व नजिकिँदै गर्दा खुला सीमाको प्रयोग गरी तस्करी बढ्न थालेको सुरक्षा निकायको आकलन छ। भारतबाट क्यारिङमार्फत भन्सार छली गरी ल्याइएका लत्ताकपडा, खाद्यान्न, मोटर पार्ट्सलगायत सामग्री विराटनगरका विभिन्न स्थानमा अस्थायी रूपमा भण्डारण गर्ने र पछि अन्य सहरमा पठाउने प्रवृत्ति देखिँदै आएको छ।
तस्करीका सामान बजारमा सस्तो मूल्यमा पुग्दा वैधानिक रूपमा कारोबार गर्ने व्यवसायी प्रभावित हुने गरेका छन्। व्यवसायीहरूले तस्करीका सामानका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको गुनासो गर्दै आएका छन्।

सुरक्षा निकायले समय–समयमा तस्करीका सामान बरामद गर्दै आए पनि खुला सीमाको फाइदा उठाउँदै अवैध रूपमा सामान भित्र्याउने क्रम रोकिएको छैन। चाडपर्वका बेला तस्करी बढ्न सक्ने भएकाले सीमा क्षेत्रदेखि सम्भावित भण्डारणस्थलसम्म निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको एसपी भण्डारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर