पूर्वाञ्चल खबर
कार्यालयले बिहीबारदेखि लागू हुने गरी पोद्धारको लाइसेन्स नम्बर २८१ निलम्बन गर्ने निर्णय गरेको हो ।
भदौ १४ गते भन्सारबाट जाँचपास भई निस्किएको मालबाहक ट्रकमा प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी सामान फेला परेपछि पोद्धार अनुसन्धानको घेरामा परेका थिए । विराटनगर भन्सारका सूचना अधिकारी डम्बरबहादुर बस्नेतका अनुसार प्रज्ञापनपत्रमा घोषणा गरिएको भन्दा ७ पोका बढी सामान ल्याएको पुष्टि भएपछि नियमानुसार लाइसेन्स निलम्बन गरिएको हो ।
विराटनगरका पुराना एजेन्ट पोद्धारको फर्म ‘पोद्धार क्लिनिक सर्भिस’ मार्फत उनका छोराहरू सुनिल र अनिल पोद्धारले कारोबार गर्दै आएका थिए । भन्सारको नियमित जाँचपास प्रक्रिया सकेर निस्किएको एनएल ०२ क्यू ०५३२ नम्बरको भारतीय ट्रकलाई सशस्त्र प्रहरी बलको गस्ती टोलीले भदौ १४ गते राति विराटनगर–११ रोडशेष चोकबाट नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीले शंका लागेर पुनः जाँचका लागि भन्सार पठाएको उक्त ट्रकमा हार्डवेयर, मेडिकल सामग्री र पूजाका सामग्री चन्दन र टीका गरी ७ पोका अवैध सामान भेटिएको थियो । भन्सार कर्मचारीको सेटिङ मा बिनाघोषणा सामान बाहिर निकाल्न खोजिएको यो प्रकरणले भन्सारको सुरक्षा जाँचमाथि प्रश्न उठाएको छ ।
प्रशासनले सुरुमा जरिवाना गरेर मात्रै उन्मुक्ति दिन खोजेको भन्दै विभिन्न संचारमध्यामहरुमा समचार प्रकाशित भएको थियो । त्यसपछि भन्सारले जरिवना गरेको दुई दिनपछि मात्रै बिहीबार एजेन्ट पोद्धारको लाइसेन्स निलम्बनको निर्णय भएको हो । यसअघि मंगलबार मात्रै भन्सारले एजेन्टका छोरा अनिल पोद्धार र कर्मचारी अरुणकुमार शाहलाई जनही ७९ हजार ४ सय ८४ रुपैयाँ जरिवाना तिराएर रिहा गरेको थियो ।
भन्सार परिसरभित्रै प्रभाव राख्ने एजेन्टको संलग्नतामा भएको यो राजस्व छलीको प्रयासमा अन्य कर्मचारीको भूमिकाबारे पनि छानबिन हुनुपर्ने माग उठिरहेको छ । भन्सारमा पोद्धारको सामानको नापजाँच त्यसबेला भन्सार अधिकृत भिमराज आङ्देम्बेले गरेका थिए ।