पूर्वाञ्चल खबर
भन्सारको नियमित प्रक्रिया सकेर निस्किएको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई पुन: जाँच गर्दा सात पोका अवैध सामान फेला परे पनि पहुँचवाला एजेन्टको लाइसेन्स निलम्बन गर्न भने भन्सार प्रशासनले आलटाल गरिरहेको छ ।
भन्सार परिसरभित्रै ‘पोद्धार क्लिनिक सर्भिस’ नामक फर्ममार्फत कारोबार गर्दै आएका पुराना एजेन्ट विनोद पोद्धारले कर्मचारीको ‘सेटिङ’ मा हार्डवेयर र मेडिकलका सामान बिनाघोषणा बाहिर निकाल्न खोजेका हुन् । भदौ १४ गते राति विराटनगर–११ स्थित रोडशेष चोकबाट सशस्त्र प्रहरी बल नं ३ गण हेडक्वार्टर कंकालिनी मोरङको गस्ती टोलीले एनएल ०२ क्यू ०५३२ नम्बरको भारतीय ट्रकलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो ।
सात पोका बढी सामान, डेढ लाख जरिवाना
सशस्त्र प्रहरीले थप अनुसन्धानका लागि बुझाएको उक्त ट्रकलाई भन्सार कार्यालयले दुई दिन लगाएर गरेको पुनः जाँच (रिचेक) का क्रममा प्रज्ञापन पत्रमा उल्लेख नभएका थप सात पोका सामान भेटिएको हो । बरामद सामानमा घोषणा नगरिएका हार्डवेयर, मेडिकल सामग्री र पूजाका सामग्री (चन्दन र टीका) रहेका छन् ।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले जाँचका क्रममा कैफियत भेटिएको स्वीकार गरेका छन् । उनले भने, ‘‘पुनः जाँच गर्दा सात पोका सामान बढी देखियो । दुई पोका सामानमा परिमाण तलमाथि थियो भने बाँकीमा टेप र पूजाका चन्दन जस्ता सामग्री थिए ।’’
यस प्रकरणमा संलग्न एजेन्टका छोरा अनिल पोद्धार र कर्मचारी अरुण कुमार शाहलाई भन्सारले जनही ७९ हजार ४ सय ८४ रुपैयाँ कुल १ लाख ५८ हजार ९ सय ६८ रुपैयाँ जरिवाना गरेको छ । उनीहरूले जरिवाना र ७५ हजार रुपैयाँ धरौटी बुझाएपछि मंगलबार रिहा भएका छन् ।
लाइसेन्स निलम्बनमा प्रशासनको दोहोरो मापदण्ड
राजस्व छली जस्तो गम्भीर कसुरमा एजेन्टको लाइसेन्स निलम्बन गर्नुपर्ने कानुनी प्रावधान भए पनि पोद्धारको हकमा भन्सार कार्यालय नरम देखिएको छ । यसअघि अक्बर अलीले सामान छली गर्दा एजेन्ट भरत भट्टराईको लाइसेन्स तत्कालै तीन महिनाका लागि निलम्बन गरिएको नजिर छ । तर, पहुँचवाला एजेन्ट मानिने विनोद पोद्धारको २०८१ नम्बरको लाइसेन्स निलम्बन नगरी केवल जरिवानामा मात्रै मुद्दा टुङ्ग्याउन चलखेल भइरहेको स्रोतको दाबी छ ।
यसबारे भन्सार प्रमुख श्रेष्ठले भने, “अहिलेलाई जरिवाना गरिएको हो, तर अनुसन्धान अझै जारी छ । कर्मचारीको कमजोरी हो कि एजेन्टको बदमासी भन्ने खुट्याएपछि मात्र लाइसेन्सबारे निर्णय हुन्छ ।”
भन्सारमा मौलाउँदो ‘सेटिङ’
विराटनगर भन्सारमा एजेन्ट र कर्मचारीको मिलेमतोमा सामानको न्यून मूल्याङ्कन गर्ने वा घोषणाभन्दा बढी सामान निकाल्ने प्रवृत्ति बारम्बार दोहोरिने गरेको छ । केही समयअघि मात्रै सिलाइ मेसिन र चस्मा बोकेको ट्रकमा पनि यस्तै कैफियत भेटिएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिनुपरेको थियो ।
भन्सार नाकाबाट सबै प्रक्रिया पूरा गरी जाँचपास भइसकेका ट्रकहरू बाहिर निस्कनेबित्तिकै पक्राउ पर्नुले भन्सारका जाँचकी र कर्मचारीहरूको कार्यक्षमता र इमानदारीमाथि गम्भीर प्रश्न खडा गरेको छ । पहुँचवाला एजेन्टहरूलाई कारबाहीमा गरिने विभेदले राजस्व छली गर्नेहरूलाई थप प्रोत्साहन मिलिरहेको छ ।