पूर्वाञ्चल खबर
गत साउन ३० गतेदेखि शुरु भएको प्रतियोगिता दोश्रो संस्करण आज सम्पन्न भएको छ । फाईनल प्रतियोगितामा विद्यार्थीले संगठित अपराध सम्वन्धी काल्पनिक मुद्धामा बहस गरेका थिए । निर्णायकमा उच्च अदालत विराटनगरका न्यायाधिशहरु महेन्द्रनाथ उपाध्याय, प्रकाश खरेल र रमादेवी पराजुली रहेका थिए।
फाईनल प्रतियोगितामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री गीता तिम्सीना उच्च अदालत, जिल्ला अदालतका न्यायाधिश, सरकारी वकिलहरु, बरिष्ठ अधिवक्ताहरु लगायतको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीले राम्रो प्रस्तुती गरेको बताए । मुटकोर्ट प्रतियोगिता हुन आवस्यक रहेको बताए। उनले प्रदेश सरकारले अदालती अभ्यास प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको बताए । कानुनका विद्यार्थी हरेक क्षेत्रमा प्रतिष्पर्धी हुने उनले बताए ।
सामाजिक विकास मन्त्री गीता तिम्सीनाले ब्राईट भिजन कलेजले कानुनका दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्। कानुनका विद्यार्थीको क्षमता विकासमा प्रदेश सरकारले सरकारी र निजी कलेजका उत्पादन भनेर विभेद नगर्ने उहाँले प्रतिबद्धता व्यक्त गरिन् ।
ब्राईट भिजन कलेजका प्रमुख बरिष्ठ अधिवक्ता चुडामणि आचार्यले मुटकोर्टले अदालतको अनुशासन कायम गर्न मद्दत गर्ने बताए । उनले विद्यार्थीमा सिर्जनात्मक सोच र विश्लेषणात्मक सोचको विकास गर्ने बताए । कानुन पढ्ने विद्यार्थी ब्राइट भिजनको मात्र नभएर राज्यको जनशक्ति भएको उनको भनाई छ । उनले प्रदेश सरकारले कोशी प्रदेशका १३७ वटै स्थानीय तहहरुमा प्रदेश कानुनका बारे सञ्चार गर्न कानुनका विद्यार्थीलाई प्रयोग गर्न सुझाव दिए । प्रमुख आचार्यले प्रदेश मन्त्रालय, तथा निकायहरुमा इन्टर्नसीपको प्रवन्ध गर्न आग्रह गरे ।
प्रतियोगिताको उपाधि बीभीएलसी ८१७ समूहले जितेको छ । सो समूहका रविस कोइराला, अर्नभ शर्मा, चेतनसिंह बस्नेत र सुन्मिमा गौतम प्रथम भएका छन् । उपाधि जित्ने समूहले नगद १२ हजार सहित ट्रफी प्राप्त गरेको छ ।
बीभीएलसी ८०८ का उन्नती पौडेल, स्वस्तिका रेग्मी, दिपीक्षा बस्नेत र अर्पणा राउतको समूह दोश्रो भएको छ । दोश्रो हुने समूहले नगद ७ हजार र ट्रफी जितेको छ ।
प्रतियोगितामा आमोद वस्ती, सञ्जय घिमिरे कविता पौडेल र रोजेन्स्की पोखरेलको समूह तेश्रो भएको छ । तेश्रो हुने समूहले नगद ४ हजार र ट्रफी जितेको छ । प्रतियोगितामा उत्कृष्ट बहसकर्ता प्रतिष्ठा पोखरेल भइन्। उनलाई नगद ४ हजार र ट्रफी प्रदान गरिएको छ ।
दोश्रो संस्करणको मुटकोर्ट प्रतियोगितामा २५ समूहमा एक सय विद्यार्थी सहभागी भएको विद्यार्थी नारायण चौलागाइँले जानकारी दिए। कलेजले गतवर्षदेखि मुटकोर्ट प्रतियोगिता शुरु भएको गरेको हो । मुटकोर्टमा विद्यार्थीको आकर्षण बढेको विद्यार्थी मनिष सिग्देलले बताए ।
प्रतियोगितामा वीएएलएलवीको पाँचवटै सेमेष्टरका विद्यार्थीको सहभागिता रहेको उनले बताए। प्रतियोगितामा विद्यार्थीले सुनचोरी तथा पैठारी, संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी काल्पनिक घटनालाई मुद्दाका रूपमा प्रस्तुत गरेका थिए । अदालतमा बहस गर्ने शैली, मुद्दाको तयारी, कानुनी आधार खोज्ने तथा आफ्नो पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने सीप विकास गर्न सहयोग पुग्ने विद्यार्थीहरुले बताएका छन् । विद्यार्थी प्रतिक्षा चालिसेले व्यवसायिक कानुनका जनशक्ति उत्पादन गर्ने कलेजका रुपमा ब्राइट भिजन स्थापित रहेको बताए ।