AArya
RUMPUM
animated ellipse animated ellipse

सुनसरीको देवानगञ्ज गोलकाण्डमा मृत्यु भएका ओमप्रकाश र जयप्रकाशका परिवारलाई १० लाख राहत, मृतकका परिवार र गृहमन्त्रीवीच ७ बुँदे सहमति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ श्रावण २०८३, शुक्रबार ०८:०६
3
Shares
विराटनगर / सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कसानगञ्जमा गत साउन १० गते भएको दुःखद घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बिहीबार राति भएको छलफलपछि दुवै पक्षबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

गत साउन १० गते आइतबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारले राखेका माग सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । जयप्रकाशको मृत्यु हिजो दिउँसो भएको थियो ।

सहमतिअनुसार सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ । साथै, दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने भएको छ ।

घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ । मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिस यथाशीघ्र कार्यान्वयन गर्ने तथा स्थानीय सरकारसँग समन्वय गरी मृतकहरूको सम्झनामा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सहमतिमा समेटिएको छ ।

सम्झौतापत्रमा पीडित पक्षका तर्फबाट ओमप्रकाश मेहताका अभिभावक कृष्णदेव र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् । सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका हुन् । यसैबीच, दुवै मृतकको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर