पूर्वाञ्चल खबर
विराटनगरमा आयोजित पार्टीको महानगर कमिटीको कार्यक्रमलाई आज सम्बोधन गर्दै सांसद साम्पाङले सदनमा उठाइएका गम्भीर राष्ट्रिय मुद्दाहरूमा सरकार लाचार र अनुत्तरदायी बनेको आरोप लगाएका हुन् ।
सम्बोधनका क्रममा उनले संसदको गरिमा र प्रभावकारितामाथि प्रश्न उठाउँदै भने, ‘संसदमा हामी बोलिरहेका छौँ तर त्यो संसद पनि अहिले बोल्ने ठाउँ मात्रै भएको छ । फेसबुक र संसद एउटै लाग्न थाल्यो । फेसबुकमा पनि बोल्छु, बोलेर केही हुँदैनस संसदमा पनि बोल्छु, त्यहाँ पनि केही हुँदैन । जब सरकार जवाफदेही बन्दैन, तबसम्म केही नहुने रहेछ ।’
सांसद साम्पाङले प्रधानमन्त्रीको कार्यशैली र सदनप्रतिको उदासिनतामाथि कडा प्रहार गरे । प्रधानमन्त्री आफैँ संसदमा उपस्थित नहुने र आए पनि अत्यन्तै कम समय मात्र बस्ने गरेको उनले बताए । नेपाल–भारत सीमा विवाद जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले हलुका टिप्पणी गरेको उनको आरोप छ । ‘नेपालले भारतको सिमाना धेरै ठाउँमा मिचेको छ भनेर थाहा पाएको छु भन्नुहुन्छ प्रधानमन्त्रीज्यू, अनि कहाँ मिचेको छ त भन्दा उहाँ आउनुहुन्न,’ साम्पाङले भने, ‘डेढ महिना कराएपछि २० मिनेट जति यसो आएर बस्नुहुन्छ र फेरि गइहाल्नुहुन्छ । यसरी सरकार चलिरहेको छ ।’
देशको आर्थिक अवस्था र विभिन्न क्षेत्रका समस्याप्रति सरकार बेखबर रहेको उनले उल्लेख गरे । उद्योगपति, व्यापारी, व्यवसायी, निर्माण व्यवसायी, किसान र मजदुरका समस्याबारे संसदमा निरन्तर प्रश्न उठाउँदा पनि सरकारले चित्तबुझ्दो उत्तर नदिएको उनको गुनासो छ । साउन १ गतेदेखि महँगी अत्यधिक बढेको भन्दै उनले शिक्षा, स्वास्थ्य र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम उपभोक्ता मारमा परेको बताए । उनले भने, ‘आम उपभोक्ताको हितमा सरकारले करसम्बन्धी उचित नीति बनाएको छैन । हामीले बारम्बार खबरदारी गरिरहेका छौँ, सल्लाह दिइरहेका छौँ तर बहुमतको दम्भ देखाएर सुझावलाई बेवास्ता गरिन्छ ।’
सरकारको कार्यशैलीप्रति लक्षित गर्दै उनले कामभन्दा नाम परिवर्तनमा मात्र सत्तापक्ष अल्झिएको टिप्पणी गरे । साम्पाङले भने, ‘अहिले आशातीत काम भइरहेको छैन । कानुन संशोधन गर्नुको साटो मन्त्रालयको नाम परिवर्तन गरेर समय बिताइँदैछ । भौतिक पूर्वाधार मन्त्रालयलाई पूर्वाधार विकास मन्त्रालय बनाउँदैमा वा बसको रङ (कलर) परिवर्तन गर्दैमा जनताको जीवनमा तात्विक परिवर्तन आउँदैन । झन्झटिलो (लेन्दि प्रोसेस) कानुनी प्रक्रियामा सुधार गरेर मात्र जनताको जीवन बदल्न सकिन्छ ।’
सांसद साम्पाङले देशको बढ्दो वैदेशिक ऋण र उत्पादनहीनताप्रति समेत चिन्ता व्यक्त गरे । ‘हामी विदेशी ऋण लिएर प्रत्येक वर्ष सरकारी कामकाज चलाइरहेका छौँ । ८० प्रतिशत मान्छे काम नगरी गफ मात्र गरेर आफूलाई विद्वान सम्झन्छन्,’ उनले भने । आफ्नो पार्टीको ‘श्रम संस्कृति’ को अवधारणा स्पष्ट पार्दै उनले अरुको रोटी खोसेर खानु राजनीति नभएको तर्क गरे । उनले भने, ‘हाम्रो सिद्धान्तले प्रशस्त उत्पादन गर्नुपर्छ र भोकालाई पनि खुवाउनुपर्छ भन्छ । आफू मात्रै खाएर पेट ठूलो बनाउने र अरु चाहिँ झिङ्ग्रिङ हुने प्रवृत्तिको हामी विरोधी हौँ ।’
श्रमलाई सबैभन्दा ठूलो शक्ति मान्ने आफ्नो पार्टीको मान्यता रहेको भन्दै उनले कुनै पनि काम सानो नहुने र श्रमले नै देश समृद्ध बन्ने विश्वास व्यक्त गरे ।