AArya
RUMPUM
animated ellipse animated ellipse

मिल्स गोल्डकपको उपाधिका लागि आज प्रहरी र टिडब्लूसीवाई भिड्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ जेष्ठ २०८३, शनिबार ०५:३१
27
Shares
विराटनगर / छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज घरेलु टोली टिडब्लूसीवाई र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर भिड्दैछन् ।

विराटनगरस्थित जुटमिल खेलमैदानमा आज दिउँसो ४ बजे हुने फाइनल भिडन्तमा दुवै टोली पहिलो पटक उपाधि चुम्ने दाउमा हुनेछन् ।

मिल्स गोल्डकपको इतिहासमा यी दुवै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् । प्रतियोगिताको साविक विजेता लेटाङ फुटबल क्लबलाई क्वार्टरफाइनलमा टाइब्रेकरमा ४–३ ले पन्छाएको प्रहरी टोली उच्च मनोबलमा छ । उसले सेमिफाइनलमा अर्को घरेलु टोली लालीगुराँस फुटबल क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

यता, टिडब्लूसीवाई विराटनगरले पनि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) पकलीलाई क्वार्टरफाइनलमा २–१ ले हराउँदै आफ्नो लय प्रस्तुत गरेको थियो । सेमिफाइनलमा उदयपुरको ब्रदरहुड फुटबल क्लबलाई १–० को कठिन जित निकाल्दै टिडब्लूसीवाईले उपाधि भिडन्त पक्का गरेको हो ।

फाइनल खेलअघि दुवै टोलीका प्रशिक्षकले उपाधि जित्नेमा ढुक्क रहेको बताएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रशिक्षक दीपेन्द्र पौडेलले टोली पहिलो पटक फाइनल पुगेकाले ऐतिहासिक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने बताए । “हामीले अघिल्ला खेलहरूकै रणनीतिलाई निरन्तरता दिनेछौं,’ पौडेलले भने, “नियमित खेलाडी मनोज सुब्बाले दोहोरो पहेँलो कार्डका कारण फाइनल गुमाउने भए पनि उनको स्थानमा नयाँ खेलाडीलाई अवसर दिँदै सन्तुलित टिम मैदान उतार्नेछौं ।’’

यता टिडब्लूसीवाई विराटनगरका प्रशिक्षक वीरु गुरुङले घरेलु मैदान र दर्शकको साथ नै आफ्नो टोलीको मुख्य शक्ति रहेको बताए । “हामीले क्वार्टरफाइनल र सेमिफाइनलमा जुन सेट खेलाएका थियौं, फाइनलमा पनि त्यही टोलीलाई निरन्तरता दिनेछौं,’’ गुरुङले भने, “होम ग्राउन्डमा उपाधि रक्षा गर्ने हाम्रो मुख्य लक्ष्य हो ।’’

प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष विष्णु डंगोलका अनुसार २०७७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको प्रतियोगितामा यसपटक ८ टोलीको सहभागिता थियो ।

प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडीलाई ५ हजार १ सय र अन्य विधाका विजेतालाई ३ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोउत्कृष्ट खेलाडीले टिभी प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर