पूर्वाञ्चल खबर
कोशी प्रदेश सरकार गणतन्त्र दिवस २०८३ मूल समारोह समितिले आज विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै यस परिवर्तनका संवाहक अग्रज नेताहरू, नागरिक समाज र आम जनताप्रति उच्च सम्मान प्रकट गरे।
मुख्यमन्त्री कार्कीले सात दशक लामो आन्दोलन र बलिदानको जगमा निर्मित संविधानले नागरिक अधिकार, समानता र समावेशीतालाई संस्थागत गरेको छ भन्दै यो केवल व्यवस्थाको परिवर्तन मात्र नभई जनतालाई सार्वभौम बनाउने ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे । उनले भन्ने,‘ इतिहास र संघर्षलाई भुलेर हामी सही गन्तव्यमा पुग्न सक्दैनौँ।’
मुख्यमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन परिवर्तनकामी राजनीतिक दल, नागरिक समाज र लोकतान्त्रिक शक्तिहरूबीच सुदृढ समन्वय र सहकार्य अपरिहार्य रहेको बताए । उनले भने ,‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै सुशासनयुक्त सेवा प्रवाह गर्ने बताए ।
व्यक्तिगत वा समूहगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय अखण्डता, सार्वभौमिकता र लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो भन्दै उनले आपसी सहकार्यमार्फत ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को लक्ष्य र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न एकजुट होऔँ ।
मुख्यमन्त्री कार्कीले सीमित स्रोत–साधनका बाबजुद जनतामा प्रभावकारी सेवा प्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध भन्दै सरकारमाथि उठ्ने प्रश्नहरूलाई स्वीकार गर्दै जनताप्रतिको उत्तरदायित्व र जबाफदेहिताबाट सरकार कहिल्यै विमुख हुने छैन उल्लेख गरे । उनले सन् १९५३ मे २९ (वि.सं. २०१० जेठ १५) मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेको ऐतिहासिक दिनको स्मरण गर्दै ७४ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना दिए ।
मुख्यमन्त्री कार्कीले सगरमाथाले नेपाल र कोशी प्रदेशलाई विश्वसामु चिनाएको छ भन्दै यसको गरिमालाई उच्च राख्न सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन र जलवायु परिवर्तनका नकारात्मक असरहरू न्यूनीकरण गर्न प्रदेश सरकार, नेपाल सरकार र विश्व समुदायसँग सहकार्य गर्न तयार रहेको बताए । नागरिक स्वतन्त्रता, लोकतन्त्र र सार्वभौम अधिकारका उपलब्धिलाई जोगाउँदै सगरमाथाको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे ।
यस अघि प्रदेश सरकार गणतन्त्र मूल समारोह समितिले जिल्ला प्रशासन मोरङको अगाडिबाट निकालिएको प्रभातफेरीले नगरको मुख्य मुख्य भागको परिक्रमा गरेको थियो ।
प्रभातफेरीमा प्रदेशका सभामुख, उपसभामुख,विभिन्न मन्त्रालयका मन्त्रीहरु,कर्मचारी, विद्यालयका विद्यार्थीहरु, वित्तिय संस्थाका कर्मचारी र विभिन्न जातजातका झाँकीहरु सहभागी भएका थियो ।