पूर्वाञ्चल खबर
कार्यालय परिसरमै बसेर सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीले विराटनगर–६ का ३७ वर्षीय कमलकुमार स्वर्णकारलाई नियन्त्रणमा लिएको हो ।
विराटनगर–४ खार्जीस्थित यातायात कार्यालयमा लेखापढीको काम गर्दै आएका स्वर्णकारले सेवाग्राहीबाट राजस्ववापतको रकम बुझ्ने तर कार्यालयमा बुझाउनुको साटो आफैंले नक्कली छाप र हस्ताक्षर प्रयोग गरी नवीकरण गर्ने गरेको खुलेको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार स्वर्णकारले चैत १६ गते को ३९ प ९५७९ नम्बरको मोटरसाइकलको ब्लू बुकमा छैटौं तहका अधिकृतको दस्तखत र कार्यालयको छाप किर्ते गरेको फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
‘स्वर्णकारले सेवाग्राहीसँग नवीकरणवापतको राजस्व रकम उठाउने र कार्यालयमा दाखिला नगरी आफैंले नक्कली रसिद नम्बर राखेर छाप र दस्तखत गर्ने गरेको पाइयो,’ डीएसपी लामिछानेले भने, ‘राजस्वको रकम आफैं राख्ने र फर्जी कागजात थमाएर सेवाग्राहीलाई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’
पक्राउ परेपछि स्वर्णकारको घरमा गरिएको खानतलासीका क्रममा प्रहरीले थप ११ थान सवारी दर्ता किताब बरामद गरेको छ । ती बिलबुकहरु पनि अवैध तरिकाले नवीकरण गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले स्वर्णकारविरुद्ध मोरङ जिल्ला अदालतबाट म्याद थप गरी सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
यातायात कार्यालय जस्तो संवेदनशील सरकारी निकायको हाताभित्रै बसेर अधिकृतकै हस्ताक्षर र छाप किर्ते हुनुले सुरक्षा र निगरानी संयन्त्रमाथि समेत प्रश्न उठाएको छ । प्रहरीले स्वर्णकारमार्फत काम गराएका अन्य सेवाग्राहीहरूलाई पनि आफ्नो बिलबुकको आधिकारिकता जाँच गर्न र ठगिएको भए तत्काल सम्पर्कमा आउन अनुरोध गरेको छ । यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धानलाई तीव्र पारेको छ ।