AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा वीरेन्द्रकुमार साह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० चैत्र २०८२, मंगलवार ०७:४६
81
Shares
विराटनगर / विराटनगरका पत्रकार वीरेन्द्रकुमार साहको अध्यक्षमा चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको नेतृत्व निर्वाचित गरेको छ।

सोमबार विराटनगरमा सम्पन्न तेस्रो अधिवेशनले साहको अध्यक्षमा नयाँ नेतृत्व निर्वाचित भएको हो ।

अधिवेशनले उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुङ्गाना, महासचिवमा विकल श्रेष्ठ, सचिवमा तुलसीप्रसाद निरौला तथा कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन् । सदस्यहरूमा स्नेहा श्रेष्ठ, रेखा पौडेल, पारस मण्डल, सुनिल यादव, कविता घिमिरे, निशान्त कँडेल र गोपाल पौडेल निर्वाचित भएका छन् भने एक सदस्य पछि मनोनित गरिने जनाइएको छ ।

यसअघि उद्घाटन सत्र तत्कालीन अध्यक्ष सञ्जु राईको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाली चलचित्र क्षेत्रको विकासमा चलचित्र पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले पत्रकारिताले चलचित्र उद्योगका समस्या, चुनौती र सम्भावनालाई उजागर गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न योगदान पुर्‍याएको उल्लेख गरे । साथै महानगरपालिकाले सांस्कृतिक तथा चलचित्र क्षेत्रसँग सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समिर बलामीले चलचित्र पत्रकारिता उद्योगको अभिन्न अंग भएको उल्लेख गर्दै निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत चलचित्र क्षेत्रलाई सुदृढ बनाउन सकिने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, संस्थापक अध्यक्ष विक्रम लुइँटेल, चलचित्र संघका सल्लाहकारसमेत रहेका प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, संघका सल्लाहकार भीषण राई, पारस मल्टिपल हस्पिटलका प्रशासन प्रमुख हेमनारायण मेहतालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष साहले चलचित्र पत्रकार संघ कोशी प्रदेशलाई थप प्रभावकारी, सक्रिय र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारहरूबीच एकता सुदृढ गरी प्रदेशको चलचित्र क्षेत्रको विकासमा सशक्त भूमिका निर्वाह गर्ने बताए ।

अधिवेशनले चलचित्र पत्रकारहरूको पेशागत हित संरक्षण, पत्रकारिताको स्तर अभिवृद्धि तथा नेपाली चलचित्र उद्योगको प्रवर्द्धनमा केन्द्रित रहने कार्यदिशा तय गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर