AArya
RUMPUM
animated ellipse animated ellipse

सहकारी क्षेत्रको नेतृत्वमा महिलाको सहभागिता बढाउन जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ चैत्र २०८२, शुक्रबार १८:०८
117
Shares
विराटनगर/ कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मन्सुरीले कोशी प्रदेश सरकारले महिला सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गरिरहेको बताएका छन् ।

विराटनगरमा आज आयोजित एकदिवसीय महिला सहकारीकर्मी गोष्ठी (तेस्रो श्रृंखला) को उद्घाटन सत्रमा बोल्दै उनले सहकारी क्षेत्रमा महिला सहभागिता बढेसँगै नेतृत्व तहमा पनि महिलाको उपस्थिति विस्तार हुँदै गएको उल्लेख गरे ।

मन्त्री मन्सुरीले महिला सहकारीकर्मीहरूको सशक्तीकरणका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारी क्षेत्रमा आधाभन्दा बढी महिलाको सहभागिता रहेको अवस्थामा नेतृत्व तहमा अझ अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले सहकारी क्षेत्रमा महिलाको सहभागिता अर्थपूर्ण र प्रभावकारी रहेको बताए । उनले महासंघले आगामी जेठ महिनामा महिला सहकारी सम्मेलन आयोजना गर्ने जानकारी दिँदै उक्त सम्मेलनमा महिलाहरूको योगदान र उपलब्धिबारे विस्तृत चर्चा गरिने बताए ।

पोखरेलले सहकारीमार्फत समाज रूपान्तरणमा महिला सहकारीकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । सहकारीमा लैंगिक तथा जातीय विभेद नहुने, सामाजिक एकता कायम रहने बताउँदै उनले ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल्यमान्यताका साथ सहकारी अभियान अघि बढिरहेको बताए । उनले सहकारी अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन महिला सहकारीकर्मीहरूको भूमिका निर्णायक रहेको पनि स्पष्ट पारे ।

त्यसैगरी, प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिष्ट्रार भुपेन्द्र खनालले सहकारी आन्दोलनमा महिलाको भूमिका पुरुषको तुलनामा बढी रहेको बताए । उनले आर्थिक सशक्तीकरण, गरिबी न्यूनीकरण, उद्यमशीलता विकास तथा सामुदायिक उन्नयनमा महिलाहरूको योगदान उल्लेखनीय रहेको बताए ।

सहकारीमा सदस्यताको हिसाबले पनि महिलाको संख्या पुरुषभन्दा बढी रहेको उल्लेख गर्दै उनले प्रश्न उठाए—आसनमा महिलाको उपस्थिति भए पनि के उनीहरू शासन र निर्णय प्रक्रियामा पर्याप्त रूपमा सहभागी छन् ?

खनालले सञ्चालक समितिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने व्यवस्था भए पनि निर्णय तहमा उनीहरूको प्रभावकारी भूमिका कत्तिको छ भन्ने कुरा महत्वपूर्ण हुने बताए । उनले महिला विकासका क्षेत्रमा अझै चुनौतीहरू रहेको स्वीकार गर्दै सहकारी क्षेत्रको सुदृढीकरणमा महिलाको योगदान अत्यन्त महत्वपूर्ण रहेको निष्कर्ष प्रस्तुत गरे ।

गोष्ठी आयोजक समितिकी संयोजक हिमा मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि।की पूर्व महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्गले “लैंगिक समानता र सामाजिक रूपान्तरणमा सहकारी” विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन । त्यसैगरी सहकारी अभियन्ता लक्ष्मीप्रसाद उप्रेतीले “सहकारीमा महिला नेतृत्व र सुशासन” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

गोष्ठिमा तीन सय भन्दा बढी महिला सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर